“रोनाल्डोबाट छुटकारा नपाएसम्म युनाइटेडले सुख पाउँदैन”

एजेन्सी – पूर्व प्रिमियर लिग स्टार कार्लटन कोलले म्यानचेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डोबाट छुटकारा पाउनुपर्ने बताएका छन्। एक खेल मिडियासँग कुराकानी गर्नेक्रममा कोलले रोनाल्डोबाट छुटकारा पाएर युनाइटेडले अगाडी बढ्नुपर्ने बताएका हुन्।

युनाइटेडका प्रशिक्षक ओले गुन्नार सोल्साए बर्स्खास्त हुने अवस्थामा रहेका बेला कोलले अब आउने प्रशिक्षकले रोनाल्डोलाई आफ्नो योजनाबाट बाहिर राखेर अगाडी बढ्नुपर्ने बताए। युनाइटेड रोनाल्डोमा भन्दा पनि युवा खेलाडीहरुमा केन्द्रित हुनुपर्ने कोलको भनाई छ। टकस्पोर्ट्ससँग कुराकानी गर्नेक्रममा उनले के रोनाल्डो भविष्य हुन् त भनेर प्रश्न समेत गरे।

“युनाइटेडले रोनाल्डोबाट छुटकारा पाउनुपर्छ, उनलाई युनाइटेडको टोलीबाट बाहिरै राख्नुपर्छ। भविष्यलाई सोचेर अगाडी बढ्ने हो भने युनाइटेडले युवा खेलाडीहरुलाई बढी महत्व दिनुपर्छ।”,कोलले भने। गएको केहि समय देखि लेस्टर सिटीका प्रशिक्षक ब्रेन्डन रोजर्स युनाइटेड आउने चर्चा छ।

कोलले ब्रेन्डन रोजर्सलाई सबै भन्दा पहिला रोनाल्डोबाट छुटकारा पाउन मात्र भनेनन् रोनाल्डोले रोजर्सको रणनीति भित्र खेल्न नसक्ने पनि बताए। उनले भने,”खास भन्ने हो भने भविष्यको लागि योजना बनाउनुपर्नेहुन्छ। तर के रोनाल्डो भविष्य हुन् त? ब्रेन्डन रोजर्स कसरी खेल्छन् सबैलाई थाहा छ। उनी हाई प्रेस मनपराउँछन्।”

रोजर्स कठिन भन्दा कठिन निर्णय लिन सक्ने प्रशिक्षक रहेको पनि कोलले बताए। त्यसक्रममा कोलले लिभरपुलमा स्टेभेन जेरार्डलाई लिएर गरेको निर्णय पनि सम्झिए। रोजर्स युनाइटेडका लागि राम्रो प्रशिक्षक बन्न सक्ने कोलको आशा छ।

“म्यान युनाइटेड उच्च दबाब दिने टोली हुनु आवश्यक छ। उनीहरूलाई ऊर्जा चाहिन्छ। गएको सिजन उनीहरुले हाई प्रेस खेलेका थिए, जसकारण युनाइटेडले धेरै हद सम्म सफलता समेत पाएको थियो।”,कोलले भने,”ब्रेन्डन रोजर्सले वास्तवमा म्यान युनाइटेडका लागि उपयुक्त छन्।”

प्रकाशित : आइतबार, मङि्सर ०५, २०७८१२:२५

जाभीको योजनामा रहेका खेलाडी ‘हाइज्याक’ गर्ने योजनामा युनाइटेड, सित्तैमा उछिट्याउने दाउ !