एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले बार्सिलोनाका फ्रेन्च फुटबलर ओस्मान डेम्बेलेलाई ‘हाइज्याक’ गर्ने योजना बनाएको खुलासा भएको छ। सिजनको अन्त्यमा बार्सिलोनासँगको सम्झौता सकिन लागेका डेम्बेलेलाई युनाइटेडले सित्तैमा अनुबन्ध गर्ने योजना बनाएको हो।
डेम्बेले बोरुसिया डर्टमुन्डबाट सन् २०१७ मा १ सय मिलियन युरो भन्दा रकममा बार्सिलोना पुगेका थिए। महँगो पारिश्रमिक पाउने सम्झौता पछि बार्सिलोना पुगेका उनको सम्झौता सन् २०२२ मा सकिँदैछ।
बार्सिलोना गएयता डेम्बेले लगातार घाइते हुँदै आएका छन्। बार्सिलोनाले जे अपेक्षा सहित उनलाई खरिद गरेको थियो, त्यो पाउन सकिरहेको छैन। तैपनि बार्सिलोना डेम्बेलेको सम्झौता थप गर्ने पक्षमा छ। बार्सिलोनाका नवनियुक्त प्रशिक्षक जाभीले डेम्बेले आफ्नो योजनाको हिस्सा हुने स्पष्ट पारिसकेका छन्। त्यस्तोमा बार्सिलोनाले डेम्बेलेको सम्झौता थप गर्ने प्रयास गर्नेछ।
तर डेम्बेले सम्झौता गर्ने पक्षमा नरहेको स्पेनिस मिडियाहरु बताउँछन्। डेम्बेलेको बार्सिलोनामा सम्झौता सकिन मात्रै ८ महिना बाँकी छ। त्यस्तोमा डेम्बेलेलाई कुरेर भएपनि सित्तैमा अनुबन्ध गर्ने युनाइटेडको योजना रहेको छ।
डेम्बेलेलाई भित्र्याउनको लागि युनाइटेडले अहिले देखि नै तयारी गरिरहेको बताइन्छ। डेम्बेलेलाई फकाउनको लागि युनाइटेडले प्रस्ताव पठाइसकेको समेत मिडियाहरु दावी गर्छन्। तर युनाइटेडले डेम्बेलेलाई के कति पारिश्रमिकको प्रस्ताव गरेको हो भन्ने बारे पनि अहिले सम्म खुलिसकेको छैन।

