सिंहदबार पुग्यो बारको आन्दोलन

काठमाडौं । करिब एक महिनादेखि न्यायालयमा देखिएको विवादमा प्रमुख राजनीतिक दलहरुले स्पष्ट धारणा नराखेपछि नेपाल बार एसोसिएसन र सार्वाेच्च बार एसोसिएसनका पदाधिकारी सिंह दरबारमै पुगेको छ । सोमबार राजनीतिक दललाई झकझक्याउन सिंहदरबार पुगेका बारका पदाधिकारीहरुले विभिन्न संवैधानिक व्यक्ति र राजनीतिक दलका नेताहरुलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । सबै भन्दा पहिला सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर बारका पदाधिकारीहरुले १७ बुँदे ज्ञापनपत्र बुझाएको छन् । ज्ञापनपत्रमा प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाको बर्हिगमना किन र के का लागि भन्ने विषय समावेश गरिएको छ । ज्ञापनपत्र प्राप्त गरेपछि सभामुख सापकोटाले न्यायालयमा देखिएको समस्या समाधान गर्नका लागि आफ्नो वुद्धि, योग्यता र क्षमताले भ्याएसम्मको पहल कदम चाल्ने बताएका थिए । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

त्यसलगत्तै बारका पदाधिकारीहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) संसदीय दलका उपनेता सुवास नेम्बाङलाई भेटेका थिए । बारको ज्ञापनपत्र बुझेपछि नेम्बाङले प्राप्त पत्र पार्टीको स्थायी कमिटी बैठकमा पेश गर्ने बताएका थिए । बारले गरिरहेको आन्दोलनको बारेमा पहिले पनि जानकारी लिइरहेको र आज आधिकारिक रुपमा जानकारी प्राप्त भएको उनले बताए । बारका पदाधिकारीसँग कुराकानी गर्दै नेम्वाङले सर्वाेच्चमा दंगा प्रहरीलाई प्रवेश गराएर आन्दोलन दवाउन खोजेकोमा आफूलाई दुःख लागेको बताएका थिए ।

उनले भने, ‘बारले आन्दोलन गर्नुपर्ने अवस्था नआएको भए राम्रो हुन्थ्यो ।’ समस्याको समाधान न्यायालयबाट नै भएको भए अझ राम्रो हुने धारणा नेम्वाङको थियो । सोही क्रममा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायालयमा देखिएको समस्या जतिसक्दो चाँडो समाधान गर्न राजनीतिक दलले पहलकदम गर्नुपर्ने बताएका थिए । उनले भने, ‘न्यायालयको विवाद चाँडै समाधान होस् भन्ने हाम्रो चाहना हो ।’ त्यसपछि बार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनालाई भेट्न उनको सचिवालयमा पुगेको थियो ।

बारको ज्ञापनपत्र प्राप्त गरेपछि अध्यक्ष तिम्सिनाले न्यायालयको समस्या समाधान गर्न संवैधानिक दायरा भित्र रहेर आफूले गर्नसक्ने र गर्न मिल्ने प्रयास गर्ने बताएका थिए । त्यसपछि बारले नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङलाई भटेर ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझ्दै प्रमुख सचेतक गुरूङले ५ दलमा एउटा समझदारी बनेको र न्यायालयको शुद्धीकरणका लागि छिटोभन्दा छिटो समाधान होस भन्ने पक्षमा गठबन्धन रहेको बताएका थिए ।

प्रकाशित : मङ्गलबार, मङि्सर ०७, २०७८०८:३८

आफ्नै क्षेत्रमा गुम्यो देउवाको पकड !