आफ्नै क्षेत्रमा गुम्यो देउवाको पकड !

काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औँ महाधिवेशनमा धरान उपमहानगरपालिका पनि रहेको सुनसरी–१ का दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा शेरबहादुर देउवा समूह क्लिन स्विप भयो । सुनसरी १ मासहित समग्र जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्रमा देउवा पक्ष अत्यन्त कमजोर देखिएको हो । त्यहीकारण देउवाले आइतवार सुनसरी पुगेर सर्वसम्मतिको विकल्पमा जान अपिल गरे ।

मोरङमा पनि संस्थापन समूह कमजोर देखिएको छ । जिल्लाका १२ प्रदेश निर्वाचन क्षेत्रमा देउवानिकट २ जना मात्रै प्रदेश निर्वाचन क्षेत्र सभापति बन्न सफल भए । सुनसरी र मोरङ मात्र नभइ झापामासमेत देउवा समूह कमजोर देखिएको छ । ठूला र प्रभावशाली नेतासमेत रहेका जिल्लाका प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसको संस्थापन देउवा पक्ष कमजोर देखिएको हो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

आफ्नो समूह कमजोर देखिएपछि देउवा समूहले त्यसको प्रभाव प्रतिनिधिसभा क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिमा नदेखियोस् भनेर सहमतिको प्रयास सुरु गरेको छ । पालिका अधिवेशनदेखि नै कमजोर देखिएको संस्थापन समूह प्रदेश निर्वाचनसम्म आइपुग्दा समेत झन् कमजोर बनेको छ । देउवा समूह अहिले त्यसको ड्यामेज कन्ट्रोल अभियानमा लागेको छ । कांग्रेस राजनीतिको प्रभावशाली तर आफू कमजोर भएका झापा, मोरङ, सुनसरी लगायत जिल्लाहरूमा देउवा समूहले सहमतिको प्रयास अगाडि बढाएको हो ।

आइतबार मात्रै सुनसरीको देवानगन्ज पुगेका प्रधानमन्त्री देउवाले कार्यकर्तालाई पार्टीको महाधिवेशनमा सकेसम्म सहमतिबाट नेतृत्व छान्न आग्रह गरेका थिए । देवानगन्ज गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा देउवाले पार्टीको आन्तरिक चुनावमा लडेर नेतृत्व छान्नुभन्दा सहमतिबाटै निकास निकाल्नु पर्ने बताए । देउवा समूहको पकड रहेको सुनसरीमा पछिल्लो समय इतर पक्ष हाबी भएको छ । देउवा पक्षका प्रभावशाली नेताहरू विजयकुमार गच्छदार, ज्ञानेन्द्र बहादुर कार्की, मीन विश्वकर्मा, सीताराम मेहता र राजीव ढुङ्गाना लगायतको गृहजिल्लामा संस्थापन समूह कमजोर देखिएको हो ।

देउवानिकट नेता विश्वकर्माको आफ्नै निर्वाचन क्षेत्र सुनसरी १ को दुवै प्रदेश क्षेत्रमा संस्थापन समूह क्लिन स्विप भएपछि त्यहाँ थप तनाव बढेको छ । हार्ने भएपछि सुनसरी १ मा त उम्मेदवार नै परिवर्तन गरेर चुनाव लड्न बाध्य भएको छ देउवा समूह । रामचन्द्र पौडेल तथा शशांक–शेखर कोइरालानिकट तिलक राई देउवा समूहबाट क्षेत्रीय सभापतिमा उम्मेदवारी दिने पूर्व तयारीमा थिए । तर देउवा समूह कमजोर देखिएपछि लक्ष्मी खतिवडालाई अघि सारिएको छ ।

प्रकाशित : मङ्गलबार, मङि्सर ०७, २०७८०८:४१

प्रधानन्यायाधीशको अधिकार खोसियो !