एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह ‘इ’ को खेलमा क्याटलान क्लब बार्सिलोना घरेलु मैदानमा जित निकाल्न असमर्थ भएको छ। मंगलबार राति क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले बेन्फिका विरुद्धको खेलमा जित निकाल्न सकेन।
बलमा राम्रो पकड बनाएपनि बार्सिलोनाका स्ट्राइकरले गोल गर्न नसक्दा बार्सिलोना बेन्फिकासँग अंक बाड्न बाध्य भयो। बार्सिलोनाको तर्फबाट कुल १४ प्रहार भए। जसमा ३ प्रहार टार्गेटमा थिए। तर कुनै पनि प्रहारले गोल पोस्ट चुम्न भने सकेनन्।
बेन्फिकासँग बराबरी खेलेसँगै बार्सिलोनाले ७ अंक बनाएको छ। बार्सिलोना अहिले समूहको दोस्रो स्थानमा रहेको छ। त्यस्तै बेन्फिका भने ५ अंक सहित समूहको तेस्रो स्थानमा रहेको छ।
चुनौती च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्ने
बेन्फिकासँगको खेलमा बराबरी खेलेपछि च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना साँघुरो भएको छ। च्याम्पियन्स लिगको समूह चरणले बार्सिलोनाले शिर्ष स्थानमा रहेको बायर्न म्युनिखको सामना गर्न बाँकी छ। यस अगाडी ३-० को गोल अन्तरले पराजित गरेको बायर्नलाई बार्सिलोनाले पराजित गर्न सक्ने सम्भावना अत्यन्त न्यून देखिन्छ।
यदि बायर्नसँग बार्सिलोना हार्छ र बेन्फिकाले डाइनामो किएभलाई पराजित गर्छ भने बार्सिलोना समूहचरणबाटै बाहिरिनेछ। त्यस्तो हुँदा बेन्फिका बार्सिलोना भन्दा १ बढी अंक बनाएर नकआउट चरणमा प्रवेश गर्नेछ।
तर यदि बेन्फिकाले डाइनामो किएभसँग बराबरी खेलेको अथवा हारेको अवस्थामा बार्सिलोना बायर्न विरुद्धको खेलको नतिजा जे जस्तो भएपनि च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गर्नेछ।