एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका डेनिस खेलाडी मार्टिन ब्रेथवेटले क्लबक नवनियुक्त प्रशिक्षक जाभीसँग काम गर्न उत्साहित रहेको बताएका छन्। चोटिल भएपछि आराम गरिरहेका ब्रेथवेटले एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा जाभीसँग काम गर्न आफू धेरै नै उत्साहित रहेको बताएका हुन्।
ब्रेथवेटले जाभीसँग कुराकानी भएको पनि बताए। जाभी कुन खेलाडीलाई के भूमिकामा खेलाउने भन्ने कुरामा स्पष्ट रहेको ब्रेथवेटको भनाई छ। ब्रेथवेटका अनुसार ठिक भएर फर्किएपछि उनको बार्सिलोनामा महत्वपूर्ण भूमिका हुनेछ।
“मैले जाभीसँग कुराकानी गरिसकेको छु। उनी के गर्ने र क-के परिवर्तन गर्ने कुरामा स्पष्ट छन्। कसरी खेल्ने र कसरी अगाडी बढ्ने भन्ने कुरामा पनि उनी स्पष्ट छन्। आशा छ यो धेरै रोमाञ्चक हुनेछ।”,ब्रेथवेटले भने।
गएको सेप्टेम्बरमा ब्रेथवेटको घुँडामा समस्या देखिएको थियो। समस्या गम्भीर देखिएपछि उनको सर्जरी गरिएको थियो। सर्जरी पछि उनी अहिल आराम गरिरहेका छन्। उनी आउने केहि हप्ता भित्रै प्रशिक्षणमा फर्किने अनुमान गरिएको छ।
टिभी थ्रीलाई अन्तर्वार्ता दिनेक्रममा ब्रेथवेटले सबै कुरा ठिक गैरहेको र छिट्टै आफू फिर्ता हुने विश्वास व्यक्त गरे। उनले भने कि उनी बार्सिलोनालाई सहयोग पुर्याउन पूर्णरुपमा तयार छन्।
उनले भने,”सबै कुरा राम्रोसँग अगाडि बढिरहेको छ, यो धेरै राम्रो भइरहेको छ। म छिट्टै फर्किन चाहन्छु। तर मलाई यो थाहा छ कि फर्किएपछि बार्सिलोनामा मेरो महत्वपूर्ण भूमिका रहनेछ।”