एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो करिअरको सबै भन्दा स्वर्णिम पल स्पेनमा बिताए। नौ वर्ष स्पेनमा बिताउँदा रोनाल्डोले आफूलाई इतिहाँसकै सबै भन्दा सफल फुटबलरको रुपमा उभ्याउन सफल भए।
सन् २००९ मा रोनाल्डो स्पेनिस क्लब रियल म्याड्रिड पुगेका थिए। रियल म्याड्रिडबाट उनले कुल ४ सय ३८ खेल खेले। जसमा उनले कुल ४ सय ५१ गोल गरे। रियल म्याड्रिडले घरेलु लिग लालिगा तथा च्याम्पियन्स लिगमा दबदबा बनाउँदा रोनाल्डोको भूमिका उल्लेख्य रह्यो।
रियल म्याड्रिडमा रहेर उनके क्लब फुटबलमा जित्न सफल सम्पूर्ण उपाधि जिते। रिअल म्याड्रिडबाट उनले ४ युरोपियन कप, ३ क्लब विश्व कप, ३ युइएफइ सुपर कप, २ ला लिगा उपाधि, २ कोपा डेल रे र २ स्पेनिस सुपर कप जिते।
रियल म्याड्रिडमा हुँदा उनले स्पेनका क्लबहरुलाई आछु-आछु बनाएका थिए। उनले लगभग सबै स्पेनिस क्लब विरुद्ध गोल गरेका छन्। एक हिसाबले भन्ने हो भने स्पेनको माटो रोनाल्डोलाई धेरै नै फाप्यो।
रियल छाडेर अन्यत्र पुगेपनि उनले स्पेनिस क्लब विरुद्ध गोल गर्न छाडेका छैनन्। मंगलबार राति समेत रोनाल्डोले स्पेनिस क्लब भिल्लारियल विरुद्ध गोल गरे। च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पाँचौ खेलमा रोनाल्डोले भिल्लारियल विरुद्ध गोल गरेका हुन्।
खेल बराबरीमा टुंगिन सक्ने सम्भावना रहेकै बेला रोनाल्डोले भिल्लारियल विरुद्ध गोल गर्दै युनाइटेडको उद्धार गरे। भिल्लारियलको घरेलु मैदानमा खेलको ७८औं मिनेटमा रोनाल्डोले चलाखीपूर्ण गोल गर्दा युनाइटेड च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्यो।