एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत पेरिस सेन्ट जर्मेनलाई पराजित गर्दै म्यानचेस्टर सिटीले समूह ए को विजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गरेको छ ।
सिटीले घरेलु मैदान एतिहद रंगशालामा पिएसजीलाई २-१ ले पराजित गरेको हो । पिएसजीले खेलको ५० औं मिनेटमा किलियन एमबाप्पेको गोलमा अग्रता लिएको थियो । तर रहिम स्टर्लिङले काइल वाल्करको क्रसलाई फार पोस्टबाट गोलमा परिणत गर्दै खेललाई १३ मिनेटपछि नै बराबरीमा ल्याए ।
मेस्सी र नेयमारसँगै एमबाप्पेको जोडीले बेला बेलामा सिटीलाई समस्या दिएपनि खेल अवधिभर सिटीले नै बढी अवसर सिर्जना गर्यो । सिटीले वैकल्पिक खेलाडीका रुपमा प्रवेश गराएका ग्याब्रीएल जेससले महत्त्वपूर्ण भूमिका निर्वाह गरेपछि विजयी गोल सम्भव भएको थियो । बर्नार्डो सिल्भाको चलाखीपूर्ण मुभसँगै जेसासले विजयी गोल गरे ।
समुहको अर्को खेलमा आरबी लाइप्जिगले क्लब ब्रुगलाई ५-० ले पराजित गर्यो । समग्रमा सिटी ५ खेलमा १२ अंक जोड्दै शीर्षस्थानमा रहने पक्का भयो । पिएसजी समान खेलमा ८ अंकसहित दोस्रो स्थानमा रहँदै अघि बढेको छ । लाइप्जिग र ब्रुगको ४-४ अंक रहेको छ ।

