एजेन्सी – इटालियन क्लब एसी मिलानले च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई जिवितै राखेको छ। बुधबार राति एट्लेटिको म्याड्रिडलाई पराजित गर्दै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई जिवितै राखेको हो।
बुधबार राति एट्लेटिको म्याड्रिडको घरेलु मैदानमा भएको खेलमा मिलान १–० ले विजयी भयो। वान्डा मेट्रोपोलिटानोमा भएको प्रतिस्पर्धात्मक खेलमा मिलानको जितमा वैकल्पिक खेलाडी जुनियर मेसिएसले खेलको अन्त्यतिर निर्णायक गोल गरे। राडे क्रुनिकको स्थानमा खेलको ६५औं मिनेटमा मैदान प्रवेश गरेका मेसिएसले ८७औं मिनेटमा गोल गरेका थिए।
एट्लेटिको विरुद्धको खेलमा जित निकालेसँगै मिलान च्याम्पियन्स लिग समूह ‘बि’को तेस्रो स्थानमा उक्लिएको छ। च्याम्पियन्स लिगमा मिलनको यो पहिलो जित हो। मिलानको ४ अंक रहेको छ।
१५ अंक सहित लिभरपुल पहिलो स्थानमा छ भने पोर्टो ५ अंक सहित दोस्रो स्थानमा रहेको छ। आउने खेलमा मिलानले लिभरपुलको सामना गर्नुपर्नेछ। जारी प्रतियोगितामा अहिले सम्म पराजित नभएको लिभरपुललाई पराजित गर्न सके मिलान च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गर्न सक्नेछ। त्यसको लागि आउने खेलमा पोर्टो र एट्लेटिकोले बराबरी खेल्नुपर्नेछ।
लिभरपुल विरुद्धको खेलमा जित निकाल्न मिलानलाई सहज भने हुने छैन। लिभरपुल उच्च लयमा छ र उसले कठिन भनिएको समूह ‘बि’लाई सहजै पार गरिसकेको छ। यस्तोमा लिभरपुल विरुद्धको खेलमा पराजित भए मिलान च्याम्पियन्स लिगबाट बाहिरिने छ।

