एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर दिमितार बेर्बातोभले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)को आक्रमणपङ्ती प्रभावविहिन बनेको टिप्पणी गरेका छन्।
बेटफेयरका लागि एक स्तम्भ लेख्नेक्रममा बेर्बातोभले लियोनेल मेस्सी, नेयमार र किलियन एम्बाप्पे जस्ता खेलाडी भएको आक्रमणपङ्तीले काम गर्न नसकेको बताएका हुन्।
बेर्बातोभले मेस्सी-नेयमार-एम्बाप्पे जस्ता खेलाडीहरुबाट सोचेजस्तो प्रदर्शन हुन नसकेको बताए। उनका अनुसार राम्रो खेलेर मेस्सी-नेयमार-एम्बाप्पे ट्रियोले आफूलाई प्रमाणित गर्नुपर्ने हुन्छ।
“मलाई लाग्दैन कि स्टार खेलाडीहरुले भरिएको पिएसजीको फ्रन्टलाइनले अहिले काम गरिरहेको छ। यो आक्रमणपङ्तीले के गर्न सक्छ भनेर झलक त देखाएको छ तर अपेक्षा गरिएको विन्दुमा पुग्न भने सकेको छैन।”,बेर्बातोभले लेखेका छन्।
पिएसजीको आक्रमणपङ्ती राम्रो गर्ने प्रयास गरिरहेको पनि बेर्बातोभले बताए। तर ठूला टीम विरुद्ध भने यो ट्रियो संघर्ष गरिरहेको उनको भनाई छ। बेर्बातोभ लेख्छन्,”उनीहरु प्रयासरत छन्, त्यो स्पष्ट देख्न सकिन्छ। तर म्यानचेस्टर सिटी जस्ता ठूला टीमहरुले उनीहरुको हरेक कदम बुझ्न सकिरहेका छन्। उनीहरुले बल कता दिन्छन् र के गर्छन् भन्ने सिटीका खेलाडीहरुले सहि अनुमान लगाउन सकेको देखियो।”
मेस्सी-नेयमार-एम्बाप्पेको ट्रियोले धेरै राम्रो गर्न सक्ने बेर्बातोभ मान्छन्। यो ट्रियोले आफूलाई प्रमाणित गर्न बाँकी रहेको र त्यो समयसंगै प्रमाणित हुँदै जाने बेर्बातोभको विश्वास छ।
“उनीहरुले धेरै काम गर्न बाँकी छ। लियोनेल मेस्सी, नेयमार र किलियन एमबाप्पेले उनीहरु डिफेन्सका लागि कति समस्या पैदा गर्न सक्छन् भन्ने प्रमाणित गर्न सक्नुपर्छ। उनीहरूले धेरै राम्रो खेल्न सक्छन् र टोलीलाई राम्रो नतिजा ल्याउन मद्दत गर्न सक्छन्।”,बेर्बातोभले स्तम्भमा लेखेका छन्।