के रोनाल्डोले अन्तिम विश्वकप खेलिसकेका हुन् ?

एजेन्सी – पोर्चुगल र रोनाल्डोको विश्वकप यात्रा त्यति सहज छैन। सन् २०२२ मा हुने विश्वकपका लागि अब पोर्चुगलले सबै भन्दा कठिन बाटोबाट गुज्रनुपर्ने भएको छ। विश्वकप छनौटबाट सोझै कतार पुग्न असफल भएपछि प्लेअफमा पुगेको पोर्चुगलले अब युरोपियन च्याम्पियन इटालीलाई पाखा लगाउनुपर्नेछ।

शुक्रबार भएको समूह ड्रमा पोर्चुगल र इटाली समूह सीमा परेका छन्। पोर्चुगलले सबै भन्दा पहिला टर्कीको सामना गर्नेछ। पोर्चुगलले टर्कीलाई पराजित गर्न सकेको खण्डमा र इटालीले उत्तर म्यासेडोनियालाई हराउन समूह सीको फाइनलमा इटाली र पोर्चुगल आमने-सामने हुनेछन्।

पोर्चुगल केहि हप्ता अगाडी भएको विश्वकप छनौट अन्तर्गत सर्विया विरुद्धको खेलमा पराजित भएको थियो। खेलमा बराबरी मात्र खेलेको भएपनि पोर्चुगल विश्वकपका लागि छनौट भैसकेको हुन्थ्यो। तर अन्तिम समयमा गोल बेहोर्दा पोर्चुगल पराजित भएको थियो।

यसै वर्ष भएको युरोपियन च्याम्पियन्सशिप जितेको इटालीलाई पाखा लगाउन पोर्चुगललाई त्यति सजिलो हुनेछैन। कतार पुग्नको लागि अब पोर्चुगलले टर्की र इटाली दुवैलाई पाखा लगाउनुपर्नेछ।

रोनाल्डो सन् २००६ देखि विश्वकपमा सहभागी हुँदै आएका छन्। २१ औं शताब्दीमा पोर्चुगलले विश्वकप छनौटका लागि प्लेअफको सहारा लिनुपरेको यो तेस्रो पटक हो। यस भन्दा अगाडी पोर्चुगलले सन् २०१० र २०१४ मा पनि प्लेअफको साहारा लिनुपरेको थियो। इटाली र टर्की मध्ये जो कोहिसँग पराजित भएपनि पोर्चुगल कतार पुग्न असफल हुनेछ। र रोनाल्डोको अन्तिम विश्वकप सन् २०१८ को विश्वकप हुनेछ।

प्रकाशित : शनिबार, मङि्सर ११, २०७८१३:२३

सलाह भर्सेस माने : क्लोपको नजरमा को उत्कृष्ट ?