एजेन्सी – फ्रान्स फुटबलका प्रमुख सम्पादक पास्कल फेर्रेले पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको सन्यास बारे ठूलो खुलासा गरेका छन्। न्युयोर्क टाइम्ससँग कुराकानी गर्नेक्रममा फेर्रेले फुटबलबाट रोनाल्डोको सन्यास बारे अचम्म लाग्दो खुलासा गरेका छन्।
न्युयोर्क टाइम्ससँग कुराकनी गर्नेक्रममा फेर्रेले लियोनेल मेस्सीले भन्दा बढी बालोन ड’ओर जितेपछि मात्रै फुटबलबाट सन्यास लिने योजना रोनाल्डोको रहेको खुलासा गरे। फेर्रेका अनुसार मेस्सीले भन्दा बढी बालोन डी’ओर नजिती फुटबलबाट सन्यास लिने पक्षमा रोनाल्डो छैनन्। मेस्सीको भन्दा बढी बालोन डी’ओर जित्ने रोनाल्डोको एक मात्र लक्ष्य रहेको फेर्रेको भनाई छ।
“रोनाल्डोको एउटै लक्ष्य छ – मेस्सी भन्दा धेरै बालोन डी’ओर जितेपछि मात्रै सन्यास लिने। मलाई यो थाहा छ किन कि रोनाल्डो आफैंले मलाई त्यसो बताएका छन्।”,न्युयोर्क टाइम्ससँग कुराकनी गर्नेक्रममा फेर्रेले भने।
मेस्सी र रोनाल्डो बीचको प्रतिष्पर्धा पैसाका लागि नभएको पनि फेर्रेले बताए। इतिहाँसमा ठाउँ बनाउनको लागि मेस्सी र रोनाल्डो एकअर्कासँग प्रतिष्पर्धा गरिरहेको फेर्रेको भनाई छ।
फेर्रेले भने,”मेस्सी र रोनाल्डो बीचको प्रतिष्पर्धाको पैसासँग कुनै लेनदेन छैन। यो त ट्रफीको लागि मात्र हो। र इतिहाँसमा छुट्टै ठाउँ बनाउनको लागि पनि। यदि तपाईंले मेस्सी र रोनाल्डोको तथ्याङ्क हेर्नुभयो भने सेप्टेम्बर र अक्टोबरमा धेरै गोल गरेको देख्नुहुन्छ। यस्तो किन हुन्छ त ? पक्कै पनि यो कुनै संयोग होइन।”
आउने नोभेम्बर २९ मा यस वर्षको बालोन डी’ओर घोषणा हुँदैछ। यस वर्ष बालोन डी’ओर दौडमा रोनाल्डो भन्दा मेस्सी अगाडी देखिएका छन्। रोनाल्डोले भन्दा मेस्सीले यस उपाधि जित्ने बढी सम्भावना देखिन्छ।

