काठमाडौँ – ओलीले शनिबार राति बनाएको सूचीमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरूका अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र भीम रावललाई समावेश गरिएको थियो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
त्यसैगरी महासचिवमा शंकर पोखरेलको प्रस्ताव आएपछि पौडेलले आपत्ति जनाएका थिए। स्रोतका अनुसार पौडेल शंकरलाई महासचिव मान्न तयार नभएपछि ओली खेमामै समस्या खडा भएको छ।
त्यस्तै नेम्वाङ पनि ईश्वरलाई वरिष्ठ उपाध्यक्ष मान्न तयार भएनन्। पछि उनले सबै पदमा सहमति हुने भए आफू बाधक नबन्ने बताएका थिए। उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र टोपबहादुर रायमाझीलाई राखिएको थियो।
त्यस्तै, सचिवमा योगेश भट्टराई, गोकर्ण विष्ट, रघुवीर महासेठ, लेखराज भट्ट, रघुजी पन्त, विष्णु रिमाल, भानुभक्त ढकाललाई राखिएको थियो। यसमा खगराज अधिकारी, किरण गुरुङ, पद्मा अर्याललगायत नेताहरूले असहमति जनाएका छन्। उनीहरूले यसमा चुनाव हुनुपर्ने भन्दै ओलीलाई दबाब दिए पनि बाहिर भने केही बोलेका छैनन्।
पदाधिकारीमा युवराज ज्ञवाली, भुसाल, भीम आचार्यलाई समेटिएको थिएन। ओली पक्षका एक नेताका अनुसार सुरेन्द्र पाण्डेलाई संगठन विभागको जिम्मेवारी दिने आश्वासन दिइएको थियो भने अन्य नेताहरूको हकमा केही भनिएको थिएन।
‘अहिले केही नेतालाई आश्वासन दिइएको छ तर त्यसलाई रावल, भुसाल र ओली पक्षका केही नेता नै मान्न तयार छैनन्। त्यसकारण पनि निर्वाचनको प्रक्रिया अघि बढ्ने देखिएको छ’, एक नेताले भने।
विधान संशोधन प्रस्ताव पारित
बन्दसत्रबाट पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। बन्दसत्रमा निवर्तमान उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गरेका थिए। विधान संशोधन पारित भएसँगै एमालेमा पदाधिकारी १९ जना हुने भएको छ। अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, तीन उपमहासचिव र सात सचिव पदाधिकारी हुनेछन्। त्यस्तै ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो बन्ने भएको छ। केन्द्रीय कमिटी सदस्य भइसकेका व्यक्ति मात्रै पोलिटब्युरो सदस्यको उम्मेदवार हुन पाउने विधानको नयाँ व्यवस्थामा उल्लेख छ।
विधानअनुसार पोलिटब्युरो केन्द्रीय कमिटीप्रति उत्तरदायी हुनुपर्नेछ। विधान पारित भएपछि अध्यक्ष मण्डलका सदस्य ईश्वर पोखरेलले सर्वसम्मतिमा नेतृत्व चयनका लागि पदाधिकारीको संख्या बढाइएको बताए। बन्दसत्र सञ्चालनका लागि केपी ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेको अध्यक्ष मण्डल बनाइएको छ।

