डी मारिया भन्छन् – ‘कोपा अमेरिका जितेका मेस्सीले बालोन डी’ओर नजिते कसले जित्ने?’

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का अर्जेन्टिनी स्टार एन्जेल डी मारियाले यस वर्षको बालोन डी’ओर लियोनेल मेस्सीले जित्नुपर्ने बताएका छन्। आरएमसी स्पोर्ट्ससंग कुराकानी गर्नेक्रममा डी मारियाले यस वर्षको बालोन डी’ओर मेस्सीले जित्नुपर्ने बताएका हुन्।

एन्जेल डी मारियाले सन् २०२१ मा मेस्सीले धेरै राम्रो खेलेको बताए। फुटबल करियरको अबै भन्दा महत्वपूर्ण वर्ष बिताएका मेस्सीले बालोन डी’ओर जित्नुपर्ने उनको भनाई छ। डी मारियाका अनुसार अर्जेन्टिनालाई कोपा अमेरिका च्याम्पियन बनाउन मेस्सीको सबै भन्दा बढी भूमिका रहेका कारण पनि मेस्सीले बालोन डी’ओर जित्नु पर्छ।

“हो, यो उनको करियरको महत्त्वपूर्ण वर्ष थियो। अर्जेन्टिनासँग धेरै कुराहरू भइसकेपछि पनि उनले आफ्नो देशको लागि कोपा अमेरिका जिते। त्यसको लागि उनले निर्वाद रुपमा बालोन डी’ओर जित्नुपर्छ।”,आरएमसी स्पोर्ट्सलाई अन्तर्वार्ता दिनेक्रममा डी मारियाले भने।

गत वर्ष स्थगित भएको कोपा अमेरिका यस वर्ष भएको थियो। अर्जेन्टिनालाई कोपा अमेरिकाको फाइनल सम्म डोर्याउने क्रममा मेस्सीले महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसक्रममा उनले ४ गोल गरेका थिए।

फाइनल खेलमा मेस्सीले गोल गर्न नसकेपनि डी मारियाको गोलले अर्जेन्टिनालाई च्याम्पियन बनाएको थियो। मेस्सीको करियरमा महत्वपूर्ण अन्तर्राष्ट्रिय उपाधिको अभाव खड्किने गरेको थियो। ​

मेस्सी डेढ दशक भन्दा लामो बार्सिलोना बसाई सकाएर पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेका छन्। नयाँ चुनौती स्विकार गरेर पिएसजी पुगेका मेस्सी क्रमिक रुपमा लय समाउने क्रममा रहेका छन्।

प्रकाशित : सोमबार, मङि्सर १३, २०७८०२:३८

अन्ततः बार्सिलोना छाड्न तयार भए काउटिन्हो, यो क्लबमा जाने भए !