लगातार जित निकाल्दै उडिरहेको चेल्सीलाई युनाइटेडले जमिनमा ल्यायो !

एजेन्सी – खेलमा पछि परेको अवस्थामा जर्गिन्होले पेनाल्टीमार्फत गोल गरेपछि लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिगमा हारबाट जोगिएको छ । घरेलु मैदानमा चेल्सीले म्यानचेस्टर युनाइटेडसँग १–१ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो ।

स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको तेस्रो मिनेटमा हाकिम जियाचको प्रहार सोझै गोलरक्षक डेभिड हे गेयाको हातमा पुग्यो । ३१औं मिनेटमा एन्टेनियो रुडिगरको प्रहार बारमा लागेर फर्कदा चेल्सी अग्रता लिनबाट चुक्यो ।

५०औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । कप्तान जर्गिन्होको गल्तीमा सान्चोले बललाई नियन्त्रणमा लिदै मार्कुस रासफोर्डसँगको समन्वयमा गोल गरेका थिए । ५८औं मिनेटमा टिमो वेर्नरले सुनौलो अवसर पाएपनि सदुपयोग गर्न नसक्दा चेल्सी बराबरीबाट चुक्यो ।

६९औं मिनेटमा जर्गिन्होले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । आरोन वान विशाखाले पेनाल्टी बक्समा थियागो सिल्भालाई फउल गरेपछि रेफ्रीले चेल्सीलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा जर्गिन्हो चुकेनन् ।

७९औं मिनेटमा टिमो वेर्नरको प्रहारलाई विशाखाले ब्लक गर्दा चेल्सीले खेलमा अग्रता लिन सकेन । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा हाकिम जियाचको प्रहार सदुपयोग हुन सकेन ।

बराबरीपछि शीर्षस्थानमा रहेको चेल्सीको १३ खेलबाट ३० अंक पुगेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको २९ तथा तेस्रोमा रहेको लिभरपुलको २९ अंक छ । युनाइटेड १८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

अन्य नतिजा

ब्रेन्टफर्डविरुद्ध एभर्टन (१–०), लेस्टरविरुद्ध वाट्फोर्ड (४–२) र म्यानचेस्टर सिटीविरुद्ध वेस्ट ह्याम (२–१)

प्रकाशित : सोमबार, मङि्सर १३, २०७८०८:५५

१० मुलुकमा फैलियो कोरोनाको ओमिक्रोन भेरियन्ट, कहाँ-कहाँ ?[सूची सहित]