एजेन्सी – फुटबल जगतमा सबै भन्दा महत्वपूर्ण मानिने व्यक्तिगत अवार्ड बालोन डी’ओरमा लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको अधिपत्य रह्यो। गएको डेढ दशकको समयमा मेस्सी र रोनाल्डोले यो अवार्डका लागि एक अर्कासँग प्रतिष्पर्धा गरे।
दुवै खेलाडी अहिले फुटबल करियरको अन्तिम अवस्थामा छन्। ३४ वर्षीय मेस्सी र ३६ वर्षीय रोनाल्डोसँग फुटबल करियरका केहि वर्ष मात्र बाँकी छ। यस्तोमा यी दुई खेलाडी बीच रहेको प्रतिष्पर्धा पनि फिक्का हुँदै गएको देखिएको छ।
सन् २०२१ को बालोन डी’ओर मेस्सीले हात पारेसँगै बालोन डी’ओरमा रहेको प्रतिष्पर्धामा रोनाल्डो पछि पर्ने स्पष्ट भएको छ। मेस्सी र रोनाल्डो जति कुनै पनि खेलाडीले बालोन डी’ओर जितेका छैनन्। यस वर्षको बालोन डी’ओर जितेसँगै मेस्सी २ अवार्डले अगाडी लागेका छन्। रोनाल्डोले अहिले सम्म पाँच बालोन डी’ओर जित्दा मेस्सीले ७ पटक जितेका छन्।
हालको अवस्था र रोनाल्डोको उमेरलाई हेर्ने हो भने बालोन डी’ओरमा मेस्सी र रोनाल्डो बीच रहेको प्रतिष्पर्धाको अन्त्य भएको छ। अब आउने समयमा रोनाल्डोले बालोन डी’ओरमा मेस्सीलाई भेट्टाउन सक्ने सम्भावना सकिएको छ। यस वर्ष मेस्सीले बालोन डी’ओर जित्दा रोनाल्डो छैठौं स्थानमा सिमित भए।
रोनाल्डोले पछिल्लो पटक सन् २०१७ मा बालोन डी’ओर जितेका थिए। रोनाल्डोको अन्तिम बालोन डी’ओर पछि मात्रै मेस्सीले दुई पटक यो अवार्ड जितिसकेका छन्।