काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। हप्ताको पहिलो दिन बढेर लगातार दुई दिन घटेको सुनको मूल्य आज पनि घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९१ हजार ५ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ४ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९१ हजार रुपैंयाँमा कारोबार भइरहेको छ। यस अगाडी सुनको मूल्य आइतबार २ सय रुपैंयाँले बढ्दा सोमबार र मंगलबार १-१ सय रुपैंयाँले घटेको थियो।
सुन तिहार पछिकै सस्तो
पछिल्लो गिरावट सँगै सुन तिहार पछिकै सस्तो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज सुन लक्ष्मी पूजा पछिकै सस्तो भएको छ। सुन कार्तिक १८ गते अथवा २७ दिन यताकै सस्तो भएको महासंघले जनाएको छ।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार चाँदीको मूल्य तोलामा रु ५ ले घटेर १ हजार २ सय रुपैंयाँ कायम भएको छ।