२ करोड भन्दा बढी मूल्यको रक्तचन्दन तेल बेच्न लागेको सुइँको प्रहरीले पाएपछि …

काठमाडौँ – रक्तचन्दनको तेलको अबैध कारोबार गर्ने अर्को एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। रक्तचन्दनको तेलको कारोबार गर्दै आएको एक गिरोहलाई प्रहरीले काठमाण्डौको बुढानिलकण्ठबाट दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ गरिएकाहरुमा रामेछाप उमाकुण्ड गाउँपालिका घर भई हाल काठमाडौँ बालाजु बस्दै आएका २७ वर्षिय राम बहादुर खत्री र कास्की लेखनाथ महानगरपालिका घर भई हाल बुढानिलकण्ठ नगरपालिका बस्दै आएका ४० वर्षिय गंगा बहादुर पुन रहेका छन्।

दुवैलाई प्रहरीले काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका वडा नं.-५ पञ्चकुमारी मन्दिर नजिकबाट पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाले दिएको जानकारी अनुसार उनीहरुको साथबाट रक्तचन्दनको सुगन्धित तेल ४४ लिटर बरामद भएको छ।

पञ्चकुमारी मन्दिर नजिकबाट ४४ लिटर रक्तचन्दनको तेलको कारोबार हुन लागेको छ भन्ने गोप्य सूचनाको आधारमा महाशाखाबाट खारिएको विशेष प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको बताएको छ। उनीहरुले उक्त तेल ५ लाखका दरले कारोबार गर्न लागेका थिए।

यसहिसाबले उनीहरुबाट बरामद भएको रक्तचन्दनको तेलको मूल्य २ करोड २० लाख नेपाली रुपैंयाँ हुन आउँछ। अनुसन्धानका क्रममा उक्त तेल भारतबाट आएको खुलेको छ।

रक्त चन्दनको तेल सहित पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय,हात्तीसार काठमाण्डौ पठाइएको महाशाखाले जनाएको छ।

प्रकाशित : बिहिबार, मङि्सर १६, २०७८१७:२६

शिक्षकद्वारा ९ वर्षीय विद्यार्थीमाथि निर्घात कुटपिट, भगाइयो शिक्षक!