एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गरेको खेलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक जित निकालेको छ ।
एक गोलले पछि परेको अवस्थामा युनाइटेडले घरेलु मैदानमा आर्सनलमाथि ३–२ को रोमाञ्चक पूनरागमन जित आत्मसात गरेको हो । ओल्ड ट्राफोर्डमा बिहीबार राति प्रतिस्पर्धात्मक बनको खेलको १३औं मिनेटमा मोहम्मद इलानेको पासमा इमिल सिथ रोवीको गोलबाट आर्सनलले सुरुवाती अग्रता लिएको थियो ।
तर त्यो अग्रतालाई आर्सननले पहिलो हाफमै जोगाउन सकेन । ४४औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए । ५२औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई खेलमा २–१ को अग्रता दिलाए । उनले मार्कस रासफोर्डको पासमा गोल गरेका सथए ।
५४औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । उनले गाब्रियल मार्टिनेलीको पासलाई सदुपयोग गरेका थिए । ७०औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई ३–२ को रोमाञ्चक पुनरागमन जित दिलाए ।
मार्टिन ओडेगार्डले पेनाल्टी बक्समा फ्रेडलाई अनावश्यक ट्याकल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै युनाइटेडलाई पेनाल्टी प्रदान गरेको थियो । आर्सनलविरुद्ध दुई गोल गरेपछि रोनाल्डोले आफ्नो व्यवसायिक खेल करिअरमा ८ सय गोलको आँकडा पार गरेका हुन् ।
जितसँगै युनाइटेड १४ खेलबाट २१ अंक जोडेर सातौ स्थानमा रहेको छ । पराजित आर्सनलले चौथो स्थानमा उक्लने अवसर खेर फाल्दा २३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

