लोहनी र पशुपतिशमशेरले छाडे साथ, कमल थापालाई अध्यक्ष रहिरहन हम्मे-हम्मे !

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले महाधिवेशनमा अहिलेजस्तो दबाब सायदै पहिले कहिल्यै महसुस गर्नुपर्यो । राप्रपाको नयाँ नेतृत्वका लागि पुरानो पुस्ताविरुद्ध बलियो मोर्चाबन्दी देखिएको छ । त्यसको अगुवाइ गरेका छन्, राप्रपाका एक मात्र सांसद राजेन्द्र लिङ्देन र नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले ।

महाधिवेशनका ४ हजार ५ सयभन्दा धेरै प्रतिनिधिमा नयाँ तरङ्ग ल्याउने गरी लिङ्देन–राणा अघि बढेका छन् । राप्रपाका अध्यक्षत्रयमध्ये डा. प्रकाशचन्द्र लोहनीले खुलेरै र पशुपतिशमशेर राणाले भित्रभित्रै थापाविरुद्धको यो गठबन्धनलाई साथ दिएका छन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

‘पार्टी संस्थापनदेखि अहिलेसम्म पहिलो पुस्ताले योगदान गरिसक्नुभयो । अब नयाँ पुस्ताले पार्टी हाँक्नुपर्छ भन्ने आमकार्यकर्ताको भावना छ,’ महामन्त्रीका उम्मेदवार राणाले भने, ‘आमकार्यकर्ताको त्यो भावना र समर्थन लिएर हामी अघि बढेका छौँ ।’

राप्रपाका दुई प्यानलमध्ये पुरानो पुस्ताबाट थापा उम्मेदवार छन् भने नयाँ पुस्ताका लिङ्देन–राणाको जोडीले उनलाई कडा चुनौती दिइरहेका छन् । यी दुवै नेतालाई थापाले नै विगतमा अघि बढाएका थिए । तर, पार्टीको आकार खुम्चिँदै गयो । हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनाको पक्षमा रहेको जनमतलाई राप्रपाले समेट्न सकेन भन्ने विश्लेषणपछि त्यो अभिभारा पूरा गर्न आफूहरूले नेतृत्वमा दाबी गरेको राणा बताउँछन् ।

नेतृत्वका लागि भइरहेको अहिलेको रस्साकस्सीमा लिङ्देल–राणाको गठबन्धन बलियो हुनुका पछाडि मुख्यतः तीन कारण छन् । पहिलो, २०४७ सालमा प्रजातन्त्र पुनःस्थापनापछि स्थापना भएको राप्रपाका तीन टुक्रा मिलेर पार्टी एकीकरण भयो ।

अध्यक्ष पनि तीनै जना राखिए, थापा, राणा र लोहनी । यो महाधिवेशनबाट राणा र लोहनीले बिदा लिइरहँदा थापा भने मैदानमा उत्रिए । त्यो स्थितिमा राणा र लोहनीको घोषित–अघोषित साथ सहयोग लिङ्देन–राणा गठबन्धनलाई छ ।

दोस्रो, पूर्वपञ्चको पार्टीको पहिचानसहित स्थापित राप्रपामा अहिलेसम्म पनि सोही परिचय स्थापित छ । त्यसो हुनुको कारण पञ्चायतकालदेखिकै नेताहरूको अहिलेसम्म पार्टीमा हालीमुहाली चल्यो । राप्रपाका एजेण्डामा नयाँ पुस्तालाई आकर्षित गर्न पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज चर्को छ ।

त्यसमाथि, पूर्वराजा ज्ञानेन्द्र शाहलगायत हिन्दुराष्ट्र घोषणा र राजतन्त्र पुनःस्थापना चाहने शक्तिले लिङ्देनलाई ग्रीन सिग्नल दिएको छ । जनजाति समुदायको ठूलो जनमत धर्मनिरपेक्षताको पक्षमा रहेका बेला जनजाति नेता लिङ्देनको नेतृत्वमा हिन्दुराष्ट्र घोषणाको मुद्दा बोक्दा देशव्यापी रूपमा ठूलो सन्देश जाने त्यो शक्तिको विश्वास देखिन्छ ।

प्रकाशित : शुक्रबार, मङि्सर १७, २०७८०९:०७

२५ वटा कम्पनीको आईपीओ पाइपलाइनमा ! कुन-कुन ? [सूची सहित]