एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गरेको खेलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक जित निकालेको छ ।
एक गोलले पछि परेको अवस्थामा युनाइटेडले घरेलु मैदानमा आर्सनलमाथि ३–२ को रोमाञ्चक पूनरागमन जित आत्मसात गरेको हो । ओल्ड ट्राफोर्डमा बिहीबार राति प्रतिस्पर्धात्मक बनको खेलको १३औं मिनेटमा मोहम्मद इलानेको पासमा इमिल सिथ रोवीको गोलबाट आर्सनलले सुरुवाती अग्रता लिएको थियो ।
तर त्यो अग्रतालाई आर्सननले पहिलो हाफमै जोगाउन सकेन । ४४औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए । ५२औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई खेलमा २–१ को अग्रता दिलाए । उनले मार्कस रासफोर्डको पासमा गोल गरेका सथए ।
५४औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । उनले गाब्रियल मार्टिनेलीको पासलाई सदुपयोग गरेका थिए । ७०औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई ३–२ को रोमाञ्चक पुनरागमन जित दिलाए ।
मार्टिन ओडेगार्डले पेनाल्टी बक्समा फ्रेडलाई अनावश्यक ट्याकल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै युनाइटेडलाई पेनाल्टी प्रदान गरेको थियो । आर्सनलविरुद्ध दुई गोल गरेपछि रोनाल्डोले आफ्नो व्यवसायिक खेल करिअरमा ८ सय गोलको आँकडा पार गरेका हुन् ।
उनले व्यवसायिक खेल करियरमा स्पोर्टिङ सिपीबाट ३१ खेलमा ५, म्यानचेस्टर युनाइटेडबाट २९२ खेलमा ११८, रियल म्याड्रिडबाट ४३८ खेलमा ४५०, युभेन्ट्सबाट १३४ खेलमा १०१, पोर्चुगलबाट १८४ खेलमा ११५ र युनाइटेडबाट यो सिजन १६ खेलमा १२ गोल गरेका छन् ।
३६ वर्षीय रोनाल्डो अन्तर्राष्ट्रिय फुटबल (११५), च्याम्पियन्स लिग (१४०) र युरोपियन च्याम्पियनसिप (१४) को सर्वाधिक गोलकर्तासमेत हुन् ।रोनाल्डोले एफए कपमा टोटेनहमविरुद्ध गोल गर्दै १ सय गोल पुरा गरेका थिए ।
रियल म्याड्रिडबाट च्याम्पियन्स लिगमा आयाक्सविरुद्ध २ सयौं गोल पुरा गरेका थिए । ला लिगामा एथलेटिको बिल्वाओविरुद्ध ३ सय, ला लिगामै सेल्टाविरुद्ध ४ सय, च्याम्पियन्स लिगमा साख्तरविरुद्ध ५ सय, च्याम्पियन्स लिगमा युभेन्ट्सविरुद्ध ६ सय र लक्जेमवर्गविरुद्ध ७ सय गोल पुरा गरेका थिए ।
रोनाल्डोले आफ्नो करियरको ८०० औं गोल गरेपछि पुन: रोनाल्डो र मेस्सी बीचको राइभलरीको चर्चा सुरु भएको छ। गत सोमबार मात्र ७ औं पटक ब्यालोन डी ओर मेस्सीले जितेपछि पनि यी दुई खेलाडी बीचको तुलना भएको थियो, जुन विगत १५ वर्ष देखि हुँदै आएको थियो। जसपछि रोनाल्डोले मेस्सीको ब्यालोन डी ओर जीतको आपत्ति जनाएका एक समर्थकको पोष्टमा कमेन्ट गरेका थिए। जुन कुराले निकै चर्चा पनि पाएको थियो।
अहिले रोनाल्डोको ८०० गोल पूरा भएपछि पुन: यो क्रमले निरन्तरता पाएको छ। सामाजिक सञ्जाल अहिले यसै चर्चाले तातेको छ। थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताले रोनाल्डोले ९० मिनेटमा २ गोल गर्दै ८०० गोल पूरा गरेको, अर्कोतर्फ, मेस्सीले पीएसजीमा ४ महिनामा मात्र एक लिग गोल गर्न सफल भएको उल्लेख गरेका छन्। त्यस्तै, थुप्रै मेस्सी समर्थकले भने ३४ वर्षको उमेरमा रोनाल्डो भन्दा मेस्सी ३४ वर्षको उमेरमा निकै अगाडी रहेको स्पष्ट पारेका छन्।