एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का स्टार फुटबलर लियोनेल मेस्सीले आफ्नो लागि उत्कृष्ट खेलाडी मध्ये एक मानिनु नै ठूलो कुरा रहेको बताएका छन्। फ्रान्स फुटबलसँग कुराकानी गर्नेक्रममा मेस्सीले उत्कृष्ट फुटबल खेलाडी मध्ये एकको रुपमा चिनिन पाउनु नै आफ्नो लागि ठूलो कुरा रहेको बताएका हुन्।
मेस्सीले आफू फुटबल इतिहाँसको उत्कृष्ट खेलाडी हो भन्ने दावी कहिल्यै नगरेको पनि बताए। त्यस बारे आफू कहिले पनि नसोच्ने मेस्सीको भनाई छ। उनले भने,”मैले कहिल्यै भनेको छैन कि म इतिहासमा सर्वश्रेष्ठ हुँ। म यस बारे सोच्दा पनि सोच्दिन। मेरा लागि उत्कृष्ट मध्ये एक मानिनु नै पर्याप्त छ। यो मैले कल्पना पनि गरेको थिइनँ।”
त्यस्तै मेस्सीले सन्तान भएपछि आफू बदलिएको पनि बताए। मेस्सीले भने,”मेरा सन्तानहरु भएपछि म बदलिएको छु। अहिले म फरक तरिकाले कुराहरुलाई लिन थालेको छु। म उनीहरुसँग सक्दो धेरै अमय व्यतित गर्न रुचाउँछु।”
मेस्सीले जित्ने नै आफ्नो मुख्य प्राथमिकता हुने पनि बताए। युवा अवस्था देखि आफूले हारलाई घृणा गर्न थालेको मेस्सीको भनाई छ। सबै खेल जित्नेमा आफू केन्द्रित हुने गरेको मेस्सी बताउँछन्।
“मलाई हार मन पर्दैन। हारेको बेला कोहिसँग पनि कुरा गर्न मन पराउँदिन। जब म जवान थिएँ, म हारलाई घृणा गर्दै हुर्किएँ। म अझै पनि हरेक खेल जित्न चाहन्छु।”,मेस्सीले भने।

