लिग १ को तालिकाको शीर्ष स्थानमा रहे पनि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले यस सिजन घरेलु प्रतियोगितामा हालसम्म आफ्नो प्रदर्शनबाट प्रभाव पार्न सकेको छैन। पीएसजीले यस सिजन लिगमा हालसम्म ४२ अंक जोडेको छ र शनिबार पाँचौं स्थानको लेन्समा १-१ को बराबरी खेले पनि दोस्रो स्थानमा रहेको स्टेड रेनाइसभन्दा ११ अंकले अगाडि रहेको छ।
माउरिसियो पोचेटिनोको टोलीले ट्रोयस, रेसिङ स्ट्रासबर्ग, ब्रेस्ट, रेम्स, क्लर्मन्ट, लियोन, मेट्ज, मोन्टपेलियर, एन्जर्स, लिल, बोर्डो, नान्टेस र सेन्ट-इटिएन जस्ता टोलीहरूलाई हराएको छ, जुन सबै लिगको छैटौं स्थान भन्दा तल रहेका छन्। यद्यपि, पेरिसले स्टेड रेनाइस जस्ता बलियो पक्षहरूसँग संघर्ष गरिरहेका छन्, जससँग पीएसजी २-० ले पराजित भएको थियो। त्यस्तै, पीएसजीले तेस्रो स्थानको मार्सेल र चौथो स्थानको नाइससँग पनि ०–० को बराबरी खेल्यो।
यसैबीच, उनीहरु च्याम्पियन्स लिग राउन्ड अफ १६ मा छनोट भएका छन्। तर समूह ए को शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँग अवे खेलमा २-१ ले पराजित, बेल्जियमको क्लब ब्रुग र जर्मनीको आरबी लाइपजिगसँग बराबरी खेलेपछि समुह विजेता भने बन्न सकेन। जसको कारण अब उनीहरुले अन्तिम १६ का खेलमा लिभरपुल, बार्यन म्युनिख, रियल म्याड्रिड, चेल्सी जस्ता क्लबको सामना गर्नुपर्ने हुनसक्छ।
यसै समरमा लियोनेल मेस्सीको आगमन पछि त झन समर्थकको अपेक्षाहरु बढेको छ जसको कारण प्रशिक्षक पोचेटिनोमा अझ दबाब थपिएको छ कि यो सिजन क्लबले हरेक एक उपाधिका लागि प्रमुख दाबेदारी पेश गर्नुपर्नेछ। निकै अपेक्षा र स्टार खेलाडीका साथ पाएको पीएसजीले हालसम्म भने घरेलु तथा युरोपेली प्रतियोगिता कुनैमा पनि राम्रो प्रदर्शन गर्न सकेको छैन।