क्यानका कारण बिच्किए खेलाडी, थप चर्कियो विवाद !

काठमाडौं । वर्गीकरण विवादसँगै शुरु भएको खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) को विवाद थप चर्किएको छ । वर्गीकरणमा असन्तुष्टि जनाएका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई क्यानले दुई पटक स्पष्टीकरण सोधेको छ भने खेलाडीहरुले पनि क्यानसमक्ष ११ बुँदे माग अघि सारेका छन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

२० असोजमा बसेको क्यानको बोर्ड बैठकले सन् २०२१ को अन्तिम ९ महिना (अप्रिलदेखि डिसेम्बरसम्म) का लागि पुरुष र महिला क्रिकेट खेलाडीलाई विभिन्न समूहमा वर्गीकरण गरेको थियो । जबकी तत्कालीन उपाध्यक्ष राजुबाबु श्रेष्ठ नेतृत्वको समितिले मापदण्ड बनाएर साउनमा नै वर्गीकरणको सूची बुझाइसकेको थियो । तर क्यानले त्यसलाई ढिला मात्र अनुमोदन ग¥यो, जुन वर्गीकरणमा १८/१८ जना पुरुष र महिला खेलाडी परे ।

श्रेष्ठ नेतृत्वको समितिले हरेक ६/६ महिनामा वर्गीकरणको समीक्षा गर्ने भनेको थियो । तर एकै पटक ९ महिनाका लागि वर्गीकरण गरियो, जसमा २०२० फेब्रुअरीमा भएको नेपाल, ओमान र अमेरिकाको त्रिकोणात्मक सिरिज, मार्चमा भएको थाइल्याण्ड भ्रमण र २०२१ को अप्रिलमा भएको नेपाल, मलेसिया र ओमानको त्रिकोणात्मक सिरिजको प्रदर्शनलाई आधार मानिएको क्यानले बताएको छ ।

तर यो वर्गीकरण तीन सिरिजमा गरेको प्रदर्शनका आधारमा नभएको खेलाडीहरुको गुनासो छ । साथै खेलाडीहरुलाई सम्झौता गर्नुअघि नेपालले क्रिकेट विश्वकप लिग–टूको ओमान, नेपाल र अमेरिकाको त्रिकोणात्मक सिरिज खेलिसकेको थियो, जसमा टिममा पुनरागमन गरेका खेलाडीले राम्रो प्रदर्शन गरेका थिए ।

मापदण्ड र वर्गीकरणमा असन्तुष्टि जनाउँदै कप्तान मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र बलर कमल सिंह ऐरी गरी चार खेलाडीले ‘सेन्ट्रल कन्ट्र्याक’मा हस्ताक्षर गरेनन् र, आफ्नो असन्तुष्टि सञ्चार माध्यममा समेत राखे ।

क्यानले आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै चार खेलाडीलाई २५ कात्तिकमा स्पष्टीकरण सोध्यो । सेन्ट्रल कन्ट्र्याकबारे कुनै गुनासो भए क्यानमा लिखित निवेदन दिई छलफल गर्नुपर्नेमा विवादको विषय सञ्चारमाध्यममार्फत सार्वजनिक गर्नु विधान विपरीत भएको भन्दै पत्रमा ७ दिनभित्र स्पष्टीकरण दिन भनिएको थियो ।

चार खेलाडीले ३० कात्तिकमा जवाफ दिए, जसमा उनीहरुले खेलाडीहरुको वर्गीकरण त्रुटिपूर्ण भएको दोहो¥याएका छन् । कप्तान मल्लले क्यानका कार्यबाहक सचिव प्रशान्त मल्लसँग फोनमा सम्वाद गरेका थिए, जसमा मल्लले वर्गीकरणमा नमिलेको विषयमा बसेर छलफल गर्ने आश्वासन दिएका थिए ।

तर कुनै खबर नआएपछि क्रिकेट खेलाडीहरुले ५ मंसिरमा क्यानमा लिखित रुपमै मागपत्र बुझाए । खेलाडीहरुले वर्गीकरणको मागदण्डबारे जानकारी नदिएको तथा विगतमा झैं कप्तान तथा उपकप्तानसँग छलफल नभएको गुनासो मात्र गरेनन्, थप माग पनि अघि सारे । यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको प्रति खेल ५० डलर भत्ता पाउने गरेकोमा अहिले किन ३५ डलरमा झारेको ? म्याच फी किन नदिएको भनेर प्रश्न गरेका छन् ।

खेलाडीहरुको विमा नगरिएको, फुटबल टोलीले सरकारबाट नगद पुरस्कार पाउँदा क्रिकेट टोलीले किन नपाएको भन्ने पनि प्रश्न गरेका छन् । क्रिकेटरहरुले टिमको फिजिओले राम्रो उपचार नगरेको बताएका छन् भने मुख्य प्रशिक्षकको पनि माग गरेका छन् । वर्गीकरणप्रति कुनै पनि खेलाडी सन्तुष्ट नभएको भन्दै ज्ञापनपत्रमा ७ दिनभित्र माग सम्बोधन गर्न समेत आग्रह गरिएको एक खेलाडीले बताए ।

प्रकाशित : मङ्गलबार, मङि्सर २१, २०७८०९:१८

कांग्रेस नेतृत्वमा पुग्न सक्ला कोइराला परिवार ?