काठमाडौँ – नेपाली कांग्रेसको १३औं महाधिवेशनमा तत्कालीन महामन्त्री कृष्णप्रसाद सिटौलाले संस्थापन पक्षसँग विद्रोह गर्दै सभापतिको उम्मेदवार बने। सिटौलाको उम्मेदवारीले शेरबहादुर देउवालाई नेतृत्वमा पुग्न सहज बनायो भने रामचन्द्र पौडेल चुके। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
महाधिवेशनपछि कांग्रेसभित्र संस्थापन र इतर समुहबाट अलगरूपमा प्रस्तुत गर्दै सिटौलाले आफूलाई तेस्रो धारका रूपमा उभ्याए। पार्टी र राज्य शक्तामा आउने अवसरमा पनि गुटगत हिस्सेदारी खोज्दै र लिँदै आएका सिटौला नेतृत्वको समूह १४औं महाधिवेशनसम्म आइपुग्दा आफ्नो शक्ति विस्तार गरेको देखिन्छ।
सिटौलाकै समुहबाट १३औं महाधिवेशनमा महामन्त्रीको प्रत्यासी बनेका गगनकुमार थापासहितका केही नेताले उनको साथ छाडेका थिए। त्यसले गर्दा सिटौला समूह कमजोर भएको आकलन गरिएका बेला वडादेखि छ वटा प्रदेशका अधिवेशन सकिँदा उनको समूह विगतमाभन्दा बलशाली भएको देखाएको छ।
पार्टीभित्र विद्यमान तीन समूहमा सिटौला पक्ष एक्लाएक्लै प्रतिस्पर्धा गर्ने हैसित नभए पनि नयाँ नेतृत्व चयनका लागि क्षेत्र, जिल्ला हुँदै प्रदेशसम्म भएका निर्वाचनमा उनीहरूको मत निर्णयक बनेको छ। झापासहित केही जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न सफल भएका सिटौलाले कोइरालाहरूको गढ मानिएको प्रदेश एकको नेतृत्व पनि आफ्नो पक्षमा पारेका छन्।
संस्थापन पक्षसँगको साथ पाएका सिटौलाले प्रदेश एकमा संस्थापनइतरका उम्मेदवार केन्द्रीय सदस्य गुरुराज घिमिरे पराजित छन्। आफूनिकट नेता उद्धव थापालाई मैदान उतारेका सिटौलाले झिनो मतान्तरले परिणाम आफ्नो पक्षमा ल्याएका हुन्।
सिटौला बागमती प्रदेशको नेतृत्व चयनमा पनि निर्णायक बनेका छन्। पूर्ववत सहमतिविपरीत संस्थापन पक्षले बागमती प्रदेशमा इन्द्र बानियाँलाई सभापतिमा उम्मेदवारी दिएपछि सिटौला समूहले भीमसेनदास प्रधानलाई मैदान खडा गरेको थियो।
त्रिपक्षीय प्रतिस्पर्धामा कुनैपनि उम्मेदवारले आवश्यक मत पाएनन्। विधानको व्यवस्था अनुसार ५० प्रतिशत बढि मत नआएपछि दोस्रो चरणमा भएको निर्वाचनमा संस्थापन र इतर दुबै पक्षले सिटौला समुहको समर्थन खोजे। तर, उनीहरूको समर्थन संस्थापन पक्षलाई रहँदा इतर पक्षका उम्मेदवार जगदिश्वरनरसिंह केसी पराजित भए।