गत एक वर्ष भित्र अर्जेन्टिनी सुपरस्टार खेलाडी लियोनल मेस्सीले ब्राजिलियन दिग्गज खेलाडी पेलेका तीन रेकर्ड तोडेका छन्। मंगलबार राति च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा क्लब ब्रुज विरुद्ध दुई गोल गरेसँगै मेस्सी चिर-प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डोपछि फुटबल इतिहासमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्।
फुटबल करियरमा ७ सय ५७ गोल गरिसकेका पेलेलाई मेस्सीले मंगलबार पछि पारेका हुन्। ब्रुग विरुद्ध दुई गोल गरेसँगै मेस्सीको करियर गोल संख्या ७ सय ५८ पुगेको छ। करियर गोलको मामलामा मेस्सी क्रिस्टियानो रोनाल्डो भन्दा मात्रै पछि छ। रोनाल्डोले अहिले सम्म ८ सय गोल गरिसकेका छन्। गएको हप्ता आर्सनल विरुद्ध रोनाल्डोले दुई गोल रोनाल्डोको गोल संख्या ८ सय १ पुगेको थियो। यस हिसाबले मेस्सी रोनाल्डो भन्दा ४३ गोलले पछि छन्।
यसअघि गत सेप्टेम्बरमा बोलिभिया विरुद्धको खेलमा ह्याट्रिक गर्दै मेस्सी दक्षिण अमेरिकी देश मध्येबाट सबैभन्दा बढी अन्तराष्ट्रिय गोल गर्ने खेलाडी बनेका थिए। उनले पेलेको नाममा रहेको ७७ गोलको रेकर्ड तोडेका थिए। हाल उनले नाममा कुल ८० अन्तराष्ट्रिय गोल रहेको छ। त्यस्तै, गत डिसेम्बरमा मेस्सीले पेलेको अर्को रेकर्ड पनि तोडेका थिए।
गत वर्षको डिसेम्बर महिनामा रियल भालाडोलिड विरुद्ध गोल गर्दै मेस्सीले फुटबल इतिहासमा एक क्लबका लागि सबै भन्दा बढी गोल गर्ने ब्राजिलियन दिग्गज पेलेको रेकर्ड तोडेका थिए। पेलेले आफनो करियरमा सान्तोसका लागि कुल ६४३ गोल गरेका थिए। मेस्सीले यसै समरमा पीएसजीका लागि बार्सिलोना छाड्नु अघि क्लबका लागि ६७३ गोल गरेका छन्।

