काठमाडौं । महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका आंकाक्षीहरु मिल्ने भन्दा नमिल्ने दिशामा अघि बढेका छन् । केही दिनदेखि लगातार भइरहेका छलफलबाट प्रगति नहुँदा संस्थापन एवम् पार्टी सभापति शेरबहादुर देउवालाई फाइदा पुग्ने देखिएको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
बुधबार दिउँसो प्रकाशमान निवास चाक्सीबारीमा बसेको संस्थापन इतर समूहको बैठकमा सभापतिका तीन आकांक्षीबीच सहमति जुट्न नसकेको हो । सभापतिका एक दाबेदार शशांक कोइराला पछि हट्न तयार भए पनि रामचन्द्र पौडेल, शेखर कोइराला र प्रकाशमान सिंह एकअर्कालाई त्याग गर्न तयार नभएका हुन् ।
बुधबार बसेको बैठकमा वरिष्ठ नेता पौडेलले आफूलाई सभापतिमा नछाडे राजनीतिबाटै सन्यास लिने आशयको कुरा राखेको नेता डा. रामशरण महतले बताए ।
महतका अनुसार यो समूहमा सभापतिका लागि यिनै तीन नेताबीच कुरो अड्किएको छ । ’आजसम्मको अवस्था हेर्दा मिल्ने अवस्था देखिएन’, उनले भने, ’प्रकाशमान सिंह र शेखर कोइराला दुवै एकअर्कालाई स्वीकार्ने बिन्दुमा पुगेनन् । यदि मिल्ने अवस्था नभएमा वरिष्ठ नेता पौडेलले राजनीतिबाटै विश्राम लिने भन्नुभएको छ ।’ ‘प्रकाशमान आफैं लड्छु भन्छन्, शेखर कोइराला पनि आफैं लड्ने कसैलाई छाड्दिनँ भन्छन्’, महतले भने, ‘उता रामचन्द्र पौडेल यी दुई लडे भने म पार्टीबाटै बिदा हुन्छु । घरै बस्छु, राजनीतिबाटै सन्यास लिने खालको कुरा गरिरहेका छन् । अहिलेसम्मको अवस्था हेर्दा मिल्ने देखिएन ।’
अर्का नेता अर्जुननरसिंह केसीले पनि अझै कुरा नमिलेको बताएका छन् । उनका अनुसार केही प्राविधिक, केही राजनीतिक र केही समायोजनका कुरामा अड्किएको छ । यिनै कुरालाई ध्यानमा राखेर बिहीबार पनि छलफल हुने केसीले बताएका छन् ।
उनले बिहीबार पनि छलफल गरेर केही न केही निचोडमा पुग्ने बताए । यही समूहका अर्का नेता गुरु घिमिरेले कांग्रेसमा पार्टी हाँक्ने एक से एक नेता भएकाले कुरो अड्किएको बताएका छन् ।
‘कांग्रेसमा पार्टी हाँक्ने एक से एक नेता छन् । हाम्रो समूहको टसल साँघुरिएर नजिक आएको छ । सहमतिमा जाने कि प्रक्रियामा जाने भन्ने भएको छ’, उनले भने, ‘बिहिबार बिहान फेरि केन्द्रीय सदस्यहरु जुटेर निकास निकाल्ने भनिएको छ ।’ उनले भोलि बस्ने बैठकलाई उम्मेदवार छान्ने अधिकार नभए पनि परिपक्व सुझाव दिने बताए । ‘हामीले परिपक्व सुझाव दिने छौँ । चार नेताले सकेनन् अब हामी छान्छौँ’, उनले भने, ‘अरु मिलेर आउनु भनेको छ ।’