एजेन्सी – बाहुबली निर्देशक एसएस राजामौलीको नयाँ चलचित्रको ट्रेलर रिलिज भएको छ। राजामौलीको निर्देशनमा तयार भएको चलचित्र ‘आरआरआर’को ट्रेलर बिहिबार रिलिज भएको हो।
चलचित्रको ट्रेलरमा धमाकेदार एक्सन देखाइएको छ। चलचित्रमा मुख्य भूमिका रहेका एनटिआर र रामचरणसँगै अजय देवगन, आलिया भट्ट, ओलिभिया मोरिस लगायतका कलाकार ट्रेलरमा पनि देखिएका छन्।
भारतमा बेलायती शासन हुँदाको कथावस्तुलाई लिएर तयार पारिएको चलचित्र गएको केहि वर्ष देखि लगातार चर्चामा छ। आरआरआर दक्षिण भारतीय चलचित्र भएपनि हिन्दीमा पनि रिलिज हुनेछ। बाहुबली बनाएका एसएस राजामौलीको कारण पनि चलचित्र चर्चामा छ। गएको दुई वर्ष भन्दा बढी समय देखि दर्शक आरआरआरको प्रतिक्षामा छन्।
चलचित्र जनवरी ७ मा कयौं भाषामा रिलिज हुने बताइएको छ। बिहिबार पाँच भाषामा चलचित्रको ट्रेलर सार्वजनिक भैसकेको छ। चलचित्र हजार भन्दा बढी स्क्रिनमा एक साथ रिलिज गर्ने तयारी रहेको छ। चलचित्र ४ सय करोड भारतीय रुपैंयाँ भन्दा बढी खर्च गरेर बनाइएको हो।

