एजेन्सी – बार्सिलोनाका प्रशिक्षक जाभीले लडेको बार्सिलोना एक पटक पुनः उठ्ने बताएका छन्। बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोर्दै च्याम्पियन्स लिगबाट बार्सिलोना बाहिरिएपछि जाभीले बार्सिलोना लडेको बार्सिलोना पुनः उठ्ने बताएका हुन्।
बार्सिलोना बुधबार राति भएको खेलमा जर्मन च्याम्पियनसँग ३-० को गोल अन्तरले पराजित भयो। जससँगै बार्सिलोना बेन्फिका भन्दा पछाडी हुन पुग्यो। च्याम्पियन्स लिगको समूह चरणमा तेस्रो हुँदा बार्सिलोना युरोपा लिगमा झर्यो।
यस अवस्थामा जाभीले विगतसँग जोडे। पहिला गरिएका धेरै गलत निर्णयहरुका कारण यो दिन देख्न परेको बताए। बार्सिलोनाको यो अवस्था देख्दा दया लाग्ने र रिस पनि उठ्ने जाभीको भनाई छ।
“धेरै परिस्थितिहरूका कारण हामी अहिले यो ठाउँमा छौँ। वास्तविकताको सामना गर्दा धेरै दुख लागेको छ। सँगै रिस पनि उठिरहेको छ। तर वास्तविकताको सामना त गर्ने पर्यो।”,जाभीले भने।
जाभीले आफूहरु वास्तविकताबाट नभाग्ने पनि स्पष्ट परे। युरोपा लिग खेल्ने स्तर आफूहरुको नभएपनि उभिनको लागि आफूहरुले एक पटक पुनः प्रयास गर्ने जाभीको भनाई छ।
“हामीले यो वास्तविकतालाई मर्यादाका साथ सामना गर्नेछौं। युरोपा लिग खेल्ने स्तर त हाम्रो होइन। तर पनि वास्तविकता त यहि छ।”,जाभीले दुखि हुँदै भने। जाभीले युरोपा लिग उपाधि जित्ने प्रयासमा आफूहरु रहने पनि बताए। उनका अनुसार युरोपा लिगका लागि बार्सिलोनाले जिम्मेवार भएर खेल्नेछ र जित्ने प्रयास गर्नेछ। प्रयास गर्ने कोहि पनि असफल नहुने जाभीको भनाई छ।
उनले भने,”म नतिजाको लागि जिम्मेवार महसुस गर्छु। हामी अगाडी बढ्छौं भन्ने लागेको थियो। तर सोचे जस्तो हुन सकेन। प्रयास गर्ने कोहि असफल हुँदैन। युरोपा लिग चुनौती?हामीले यसलाई जित्नुपर्छ, हरेक खेल र उपाधि जित्नुपर्छ।”