काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पूर्वप्रधानमन्त्री भनेर सम्बोधन गरेका छन्। शुक्रबार नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटनका क्रममा ओलीले देउवालाई पूर्वप्रधानमन्त्री भनेर सम्बोधन गरेका हुन्।
नेपाली कांग्रेसलाई शुभकामना दिने क्रममा ओलीले देउवालाई कार्यक्रमका अध्यक्ष, एवं नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री र आफ्ना पूराना मित्र भनेर सम्बोधन गरे।
“यस कार्यक्रमका अध्यक्ष, एवं नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री र मेरा पुराना मित्र शेरबहादुर देउवा ज्यू।”,ओलीले सम्बोधनका क्रममा भनेका थिए।
बोलचाल बन्द भएका नेताहरु एकै ठाउँमा
पार्टी विभाजनपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकअर्कालाई आलोचना गर्दै आएका छन्। भन्नु पर्दा यी नेताहरुसँग बोलचाल समेत छैन।
केही दिनअघि मात्र चितवनमा सम्पन्न एमालेको १०औं महाधिवेशनमा अध्यक्ष नेपाललाई बोलाइएको थिएन भने अध्यक्ष दाहाल गएनन्। शुक्रबार नेपाली कांग्रेसको महाधिवेशनको उद्घाटनका क्रममा भने सबै नेता आमने-सामने भए।
त्यसक्रममा ओलीले देउवालाई नमस्कार गरेपनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाललाई भने मतलब नै गरेनन्। दुई शीर्ष नेताहरूले गरेका नमस्कारलाई ओलीले बेवास्था गर्दै आसनग्रहण गरे।

