एजेन्सी – फ्रेन्च क्लब लियोनबाट यसै सिजन बार्सिलोना आएका डच फरवार्ड मेम्फिस डिपे माथि बार्सिलोनाले धेरै नै अपेक्षा राखेको थियो। बार्सिलोना आउने बितिकै केहि समय डिपेले अपेक्षा अनुसार प्रदर्शन पनि गरे। प्रि-सिजनमा डिपेले राम्रै छनक देखाएका थिए। तर सिजन अगाडी बढ्दै गर्दै उनले अपेक्षा अनुसार प्रदर्शन गर्न सकिरहेका छैनन्।
गोलमा डिपेले उल्लेख्य भूमिका खेल्न नसक्दा बार्सिलोना झनै समस्यामा परेको छ। बलमा पकड बनाएपनि बार्सिलोनाले धेरै भन्दा धेरै खेलमा गोल गर्न सकिरहेको छैन। गोलको खडेरी र कम्जोर प्रदर्शनसँगै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिसकेको छ। यससँगै अब बार्सिलोनाले युरोपा लिग खेल्नुपर्ने भएको छ।
बार्सिलोना यो अवस्थापछि डिपे आलोचनाको केन्द्रमा छन्। धेरैले डिपेको आलोचना गरिरहेका छन्। बायर्न म्युनिखका पूर्व खेलाडी स्यान्ड्रो वाग्नरको भनाईलाई मान्ने हो भने डिपे मैदानमा भन्दा बढी इन्स्टाग्राममा बलियो छन्। डिपे माथि कटाक्ष गर्दै वाग्नरले यस्तो बताएका हुन्।
एक मिडियालाई अन्तर्वाता`अन्तर्वार्ता दिनेक्रममा वाग्नरले टीमलाई आवश्यक परेको अवस्थामा गोल गर्न नसकेको भन्दै डिपेको आलोचना गरे। बायर्न म्युनिख विरुद्धको खेलमा डिपे झनै कम्जोर देखिएको वाग्नरको भनाई छ।
“बायर्न विरुद्ध उनी धेरै नै कम्जोर देखिए। भन्ने नै हो भने उनी मैदानमा भन्दा इन्स्टाग्राममा बढी बलियो छन्।”,वाग्नरले भने। बार्सिलोनाको मुख्य स्ट्राइकरको रुपमा डिपे धेरै नै निरिह देखिएको वाग्नरले बताए।