काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हिटलरसँग तुलना गरेका छन्। शनिबार बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा नेपालले ओलीलाई हिटलरसँग तुलना गरेका हुन्।
समाजवादी प्रेस संगठन (रुपन्देही) ले शनिबार बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेक्रममा नेपालले ओलीलाई सुधार्न नसकिने दावी गरे। पार्टी विभाजन हुँदा एमालेमै छुटेका नेताहरु प्रति लक्षित गर्दै नेपालले ओली नसुध्रिने बताए।
हिटलरलाई उनकी श्रीमतीले समेत सुधार्न नसक्ने उल्लेख गर्दै एमालेमा छुटेका नेताहरुलाई ओलीको प्राइभेट लिमिटेड कम्पनीबाट मुक्त हुन आग्रह गरे।
“सुधार्न सकेको भए हिटलर सुध्रिसक्थे, उनकै श्रीमतीले त सुधार्न सकिनन्। कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन चाहानुभएको हो भने उहाँ (ओली) हरूको त्यो प्राइभेट लिमिटेड कम्पनीबाट मुक्त हुनुहोस्। एकीकृत समाजवादी अभियानमा लाग्नुहोस्।”,नेपालले भने। त्यस्तै नेपालले एमालेमा छुटेका भीम रावल, घनश्याम भुसाललगायतका नेताहरुलाई भने आफूहरुले पार्टीमा नभित्र्याउने पनि स्पष्ट पारे।