काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भए सबै तहमा बहुमत दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
सभापति पदमा उम्मेदवारी दिएपछि देउवाले कांग्रेसलाई बलियो बनाउँदै आगामी स्थानीय, प्रदेश र सङ्घीय संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने आफ्नो एउटै लक्ष्य रहेको बताएका हुन्।
सभापति पदमा उम्मेदवारी दिएपछि ट्वीट गर्दै उनले भनेका छन्,’कांग्रेसलाई बलियो बनाउँदै आगामी स्थानीय, प्रदेश र सङ्घीय संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने मेरो एउटै लक्ष्य छ । यो लक्ष्यमा सबैको साथ र सहयोगको अपेक्षा गरेको छु’
शनिबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनले यो दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
प्रधानमन्त्री देउवा आफ्ना सारथीहरूसहित महाधिवेशन प्रक्रिया चलिरहेको राष्ट्रिय सभागृहमा पुगी अपराह्न साढे ४ बजे उम्मेदवरी दर्ता गराएका थिए। उनी सभागृह पुग्दा उनका समर्थक नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए।
उनले साथमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री डा नारायण खड्का, केन्द्रीय सदस्य रमेश लेखकलगायत नेताहरू सभागृह पुगेका थिए।