ज्लाटनले स्विकार गर्दै भने – ‘लिभरपुलका डिफेन्डर कोनाटेसँग मैले सकिनँ’

एजेन्सी – एसी मिलानका सुपरस्टार ज्लाटन इब्राहिमोभिचले लिभरपुलका युवा डिफेन्डर इब्राहिमा कोनाटेको खुलेर प्रशंसा गरेका छन्। एक पत्रकारसँग कुराकानी गर्नेक्रममा ज्लाटनले कोनाटेको खुलेर प्रशंसा गरेका हुन्।

च्याम्पियन्स लिग अन्तर्गत समूहचरणको अन्तिम खेलमा एसी मिलानले लिभरपुलको सामना गरेको थियो। मिलानको घरेलु मैदानमा भएको खेलमा लिभरपुल २-१ को गोल अन्तरले विजयी हुँदा डिफेन्डर इब्राहिमा कोनाटेले उत्कृष्ट प्रदर्शन गरेका थिए। कोनाटेको उत्कृष्ट प्रदर्शनकै कारण ज्लाटन सहितका स्ट्राइकरहरु लिभरपुल सामू निरिह देखिएका थिए।

कोनाटेले गरेको उत्कृष्ट प्रदर्शनको चर्चा गर्दै ज्लाटनले कोनाटे एक उत्कृष्ट डिफेन्डर बन्ने बताए। मैदान र हावामा कोनाटेले आफूलाई हराएको ज्लाटनको स्वीकारोक्ति छ। त्यहि भएर आफूले जर्सी साटा-साट गरेको ज्लाटनले बताए।

“म आफैंले लिभरपुलका डिफेन्डर कोनाटेलाई शर्ट साटासाट गर्न आग्रह गरेको थिएँ। उसले मसँग जमिन र हावामा सबै लडाइहरू जित्यो। तिमी भविष्यमा उत्कृष्ट डिफेन्डर हुन्छौं भनेर पनि भनें।”,ज्लाटनले कोनाटे बारे बोले।

२२ वर्षिय कोनाटे यसै सिजन लिभरपुल आएका हुन्। पहिला उनी आरबी लाइप्जिङमा थिए। लिभरपुल आएयता निरन्तर मौका नपाएपनि मौका पाएको अवस्थामा उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

प्रकाशित : शनिबार, मङि्सर २५, २०७८२०:४३

जाभीको नजरमा बार्सिलोनामा देखिएको समस्या मनोवैज्ञानिक, भन्छन् ‘हामी उपाधिका लागि लड्न सक्छौं’