फ्रान्सेली राष्ट्रिय टोलीका प्रशिक्षक डिडियर डेसच्याम्प्सले किलियन एमबाप्पेलाई सिजनको अन्त्यमा आफ्नो सम्झौता सकिएपछि पेरिस सेन्ट-जर्मेन (पीएसजी) र लिग १ छाड्न आफूले सल्लाह दिएको बारे चर्चालाई स्पष्ट रूपमा अस्वीकार गरेका छन्।
सन् २०१७ मा एएस मोनाकोबाट पीएसजीसँग लोनमा आवद्ध भएका एम्बाप्पेले २०१८ मा पीएसजीसँग सम्झौतामा हस्ताक्षर गरेका थिए। फ्रेन्च क्लबसँग उनको सम्झौता यस सिजनको अन्त्यसँगै सकिनेछ। लामो समय देखि पीएसजीले युवा सुपरस्टारलाई नयाँ अनुबन्धमा हस्ताक्षर गर्न आग्रह गरेता पनि २२ वर्षीय स्टारले त्यसलाई अस्विकार गर्दै आएका छन्। उनी अर्को सिजन रियल म्याड्रिड प्रस्थान गर्ने पनि धेरैले अनुमान गरिरहेका छन्।
यस्तोमा एम्बाप्पेका राष्ट्रिय टोलीका प्रशिक्षकले यसबारे मुख खोलेका छन्। डेसच्याम्प्सले भर्खरै आरएमसी स्पोर्टलाई भने, “मैले एम्बाप्पेलाई फ्रान्स छोड्नुपर्छ भनेको भनेर भन्नु गलत हो। मैले यस्तो कुरा न उनलाई भनेको छु न अन्य कुनै पनि खेलाडीलाई। यो लिग १ लाई बदनाम गर्न होइन। फ्रान्सको टोलीको आवश्यकताको तुलनामा, जुन शीर्ष अन्तर्राष्ट्रिय स्तर हो, खेलाडीहरुलाई च्याम्पियनशिप वा युरोपियन कपमा उनीहरूको दैनिक जीवनमा शीर्ष-स्तरीय खेलहरूमा जति प्रयोग गरिनेछ र उनीहरु त्यति नै आवश्यकताको स्तरको नजिक पुग्छन्।”
विश्वकप विजेता प्रशिक्षकले यो पनि स्पष्ट पारेका छन् कि पूर्व मोनाको स्टारले आफ्नो भविष्यको निर्णय आफैँ गर्ने पनि बताएका छन्। उनले यो निर्णय पूर्ण रूपमा एम्बाप्पेको हातमा रहेको स्पष्ट पारेका छन्। उनले भने, “किलियनले छनोट गर्नेछन्, यो उनको छनोट हो। यदि उनी पेरिसमा बस्छन् भने कुनै समस्या छैन।”
फ्रान्सेली वन्डरकिड माथि हालैका वर्षहरूमा स्पेनिस दिग्गज रियल म्याड्रिडले खुल्ला रूपमा आफ्नो चासो देखाएको छ। लस ब्लान्कोसले जारी सिजनको अन्त्यमा पीएसजीमा फ्रेन्च स्टारको सम्झौता सकिएसँगै २२ वर्षीय खेलाडीलाई अनुबन्ध गर्ने अपेक्षा गरेको छ। हालसम्म एमबाप्पेले पीएसजीसँगको सम्झौता लम्ब्याउने कुनै मनसाय देखाएका छैनन्।