एजेन्सी – पूर्व फुटबल खेलाडी जो कोलले लियोनेल मेस्सी बालोन डी’ओरको वास्तविक हकदार भएको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा कोलले मेस्सी बालोन डी’ओरको हकदार रहेकोमा कुनै पनि विवाद नरहेको बताएका हुन्।
कोरलसँग कुराकानी गर्नेक्रममा कोलले मेस्सीले बालोन डी’ओर जितेपछि अनावश्यक हल्ला शुरु भएको बताए। त्यस्तो हल्ला गरिनु अगाडी मेस्सीले अर्जेन्टिनालाई कोपा अमेरिका सम्म डोर्याएको सम्झिनु पर्ने कोलको भनाई छ।
“मलाई थाहा छ मेस्सीले बालोन डी’ओर जितेपछि धेरै प्रकारका हल्ला भइरहेका छन्। के उनी योग्य थिए त ? तर तपाईंले याद गर्नुपर्दछ कि उनले आफ्नो टोली अर्जेन्टिनालै कोपा अमेरिकाको उपाधिसम्म डोर्याएका थिए। उनी प्रतियोगिताका शीर्ष गोलकर्ता थिए।”,कोलले भने।
त्यस्तै मेस्सी नहुँदाको असर बार्सिलोनामा देखा ओअरेको पनि बताएका छन्। पछिल्लो समय बार्सिलोनाको हविगत तर्फ संकेत गर्दै उनले मेस्सी नहुँदा बार्सिलोनाको अवस्था के सम्म भएको छ भन्ने स्मरण गरे।
उनले भने,”बार्सिलोनामा मेस्सीको कति प्रभाव थियो भन्ने कुरा त अहिले देखियो। उनले नै क्लबलाई एकीकृत गरेर राखेका थिए। पिएसजी गएपछि उनी च्याम्पियन्स लिगमा गोल गरिरहेका छन्। हो, उनले पूर्ण लय फर्किन बाँकी छ।”
मेस्सीको प्रशंसा गर्दा उनले वर्तमान अवस्थामा लिभरपुलका मोहम्मद सलाह विश्वकै सर्वोत्कृष्ट खेलाडी रहेको भन्न भने छुटाएनन्। वर्तमान अवस्थामा सलाह सबै भन्दा उत्कृष्ट देखिएपनि मेस्सी नै बालोन डी’ओरको हकदार रहेको कोलले दोहोर्याए।
“सलाह अहिले संसारको उत्कृष्ट खेलाडीको रुपमा देखा परेका छन्। तर बालोन डी’ओरको कुरा आउँदा मेस्सी नै हकदार हुन्। उनलाई बालोन डी’ओर दिँदा अन्याय भयो जस्तो मलाई लाग्दैन।”,कोलले भने।

