एजेन्सी – बार्सिलोनाका युवा मिडफिल्डर पेड्रीले करियरको सुरुवातमा रियल मड्रिडले आफूलाई अनुबन्ध गर्न नचाहेको खुलासा गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा पेड्रीले करियरको शुरुवातमा रियलले उनलाई अनुबन्ध गर्न अस्विकार गरेको खुलासा गरेका हुन्।
टुट्टोस्पोर्टसँग कुराकानी गर्नेक्रममा पेड्रीले आफू १५ वर्षको हुँदा आफू ट्रायलका लागि रियल म्याड्रिड पुगेको बताए। उनका अनुसार त्यसबेला उनलाई रिजेक्ट गरिएको थियो। ट्रायलको दिन हिउँ परेपछि भोलिपल्ट रियलको एकेडेमीका खेलाडीहरुसँग प्रशिक्षण गरेर आफू फर्किएको पेड्रीको भनाई छ।
“जब म १५ वर्षको थिएँ। मलाई ट्रायलका लागि बोलाइएको थियो। तर त्यो दिन ठूलो हिमपात भयो र ट्रायललाई स्थगित गर्नुपर्यो। अर्को दिन, मैले एकेडेमीका खेलाडीहरुसँग हल्का प्रशिक्षणमा भाग लिएँ। सायद उनीहरुले मेरो बारेमा पहिला नै निर्णय गरिसकेको थिएँ, म टेनेरिफ फर्केर गएँ। त्यति बेला मैले म्याड्रिडलाई अस्वीकार गर्ने थिएन।”,पेड्रीले भने।
त्यस्तै पेड्रीले आफू बार्सिलोनामै प्रतिवद्ध रहने स्पष्ट परेका छन्। म्यानचेस्टर युनाइटेड, पेरिस सेन्ट जर्मेन(पिएसजी), म्यानचेस्टर सिटी जस्ता क्लबको नजर आफू माथि रहेपनि बार्सिलोनामै रहन कटिवद्ध रहेको पेड्रीले बताए।
“म्यान युनाइटेड, म्यानचेस्टर सिटी वा पीएसजीले मलाई अनुबन्ध गर्न चाहन्छन् ? म बार्सामै खुशी छु। यो मेरो सपना हो।”,टुट्टोस्पोर्टले विभिन्न क्लबले अनुबन्ध गर्न चाहेको उल्लेख गर्दै प्रश्न गर्दै पेड्रीले भने।
पेड्री पछिल्लो सिजन देखि उच्च लयमा छन्। उनी स्पेन तथा बार्सिलोनाको प्रमुख टोलीको हिस्सा रहँदै आएका छन्। गत अक्टोबरमा उनले बार्सिलोनासँग सन् २०२६ सम्मका लागि सम्झौता थप गरेका थिए। बार्सिलोनाको दिर्घकालिन योजनामा रहेका उनले यस वर्षको गोल्डेन ब्वाई अवार्ड र कोपा अवार्ड पनि जितिसकेका छन्। बार्सिलोनासँग दिर्घकालिन सम्झौता गरेपनि उनलाई विभिन्न क्लबहरुले प्राथमिकतामा राखेका छन्।