रियल म्याड्रिडले डर्बी जितेर ला लिगाको उपाधि दौडमा निकै अगाडी बढेको छ। अब रियल म्याड्रिडको हातबाट लालिगा उपाधि फुत्काउन निकै गार्हो हुनेछ। रियल म्याड्रिड भन्दा अहिले अंक तालिका सेभिल्ला ८, रियल बेटिस ९, एथ्लेटिको १३ र बार्सिलोना १८ अंकले पछि रहेका छन्। यस्तो अवस्थामा अब कुनै टोलीले कार्लो एन्सिलोटीको टोलीलाई पछि पार्ने असम्भव जस्तै रहेको छ। विशेषगरी रियल म्याड्रिड अन्य लालिगा क्लब भन्दा निकै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ।
त्यसैले डिसेम्बरमा नै लिगको निर्णय भइसकेको सम्भावना छ। यस्तोमा अब अर्का कुरामा ध्यान जाने पक्का रहेको छ, जस्तै बार्सिलोना च्याम्पियन्स लिगमा छनोट हुन सफल हुन्छ वा युरोपा लिगमा नै रहन्छ। रियल म्याड्रिडले आधा सिजनमा नै लालिगा उपाधि जित्ने सम्भावना पक्का जस्तै हुनुमा ब्राजिलियन युवा स्टार भिनिसियस जुनियर एक प्रमुख कारण रहेको छ। उनले दुई असिस्टका साथ आइतबार भएको म्याड्रिड डर्बीलाई एकपक्ष बनाउन सफल भए। बेन्जेमा र एसेन्सियोलाई दुईवटा पास, त्रुटिरहित, र खेल सकियो। मेस्सीले बार्सिलोनामा आफ्नो करियरमा लामो समय देखि जे गर्दै आएका थिए पूर्व फ्लामेन्गो स्टारले अहिले रियल म्याड्रिडमा गर्न सुरु गरेका छन्।
मेस्सीले यस सिजन फ्रेन्च लिगमा मात्र १ गोल गर्न सफल भएका छन् भने रोनाल्डोले ७ गोल गर्न सफल भएका छन्। यस्तोमा यस सिजन तथ्यांक र प्रदर्शनको हिसाबले भिनीसियस, रोनाल्डो र मेस्सी भन्दा उत्कृष्ट देखिएका छन्।
यस्तोमा अहिले ब्राजिलियन स्टार खेलाडी मेस्सी र रोनाल्डो जस्ता सुपरस्टार खेलाडीको स्तरमा रहेको धेरैले विश्वास गर्न थालेका छन्। भिनीसियस जुनियरले यस सिजन लालिगामा १० गोल गरेका छन् भने ४ असिस्ट प्रदान गरेका छन्। यस्तोमा तथ्यांकको हिसाबले हाल लालिगामा उनी भन्दा प्रभावशाली खेलाडी कुनै पनि देखिँदैन।

