काठमाडौँ – चितवनमा नेटवर्किङ धन्दा चलाइरहेको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। गएको केहि समय देखि चितवनमा नेटवर्किङ व्यवसाय चलाइरहेको गिरोहलाई प्रहरीले चितवनबाटै पक्राउ गरेको हो।
पक्राउ गरिएकाहरुमा भारतको राजस्थान शास्त्रीनगर जयपुर बस्ने २८ वर्षीय जितेश बर्मा र हरियाणाको गुडगाउँ जिल्ला सेक्टर २३, त्रिनिटी टावर १८३ कोलारस घर भएका ३४ वर्षीय अंकित शर्मा रहेका छन्।
नेपालमा प्रतिबन्धित पिरामिड शैलीको क्यूनेट नेटवर्किङ व्यवसाय चलाउन कार्यक्रम चलाउँदै आएका उनीहरुले लाखौं रुपैयाँ ठगी गरेको खुल्न आएको छ। प्रहरीले दिएको जानकारी अनुसार उनीहरुले भरतपुरस्थित सिजी ल्याण्डमार्कको छैठौं तल्लामा नेटवर्किङ व्यवसाय बारे कार्यक्रम चलाउँदै आएका थिए।
विभिन्न झुट्टा आश्वासन र विश्वास दिलाएर उनीहरुले व्यक्तिगत लाभका लागि विभिन्न व्यक्तिहरुको खातामा रकम जम्मा गराउन लगाउने गरेका थिए। विकास घिमिरे नाम गरेका एक व्यक्तिले उनीहरु विरुद्ध प्रहरीलाई बयान समेत दिसकेका छन्। घिमिरेको २७ लाख भन्दा बढी रकम ठगि भएको थाहा हुन आएको प्रहरीको भनाई छ।
पक्राउ परेकाहरु माथि प्रहरीले अनुसन्धान गरिरहेको छ। उनीहरुले अन्य धेरै व्यक्तिहरुलाई ठगेको हुन सक्ने प्रहरीको अनुमान छ। नेटवर्किङ व्यवसायको सदस्य बनाउन उनीहरुले प्रयोग गर्ने गरेको ल्यापटप र मोबाइललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।