एमाले नेताकै ज्यान लिनेलाई पोलिटब्युरो सदस्य बनाएपछि एमालेमा भाँड-भैलो !

काठमाडौँ – नेकपा एमालेभित्र वरीयताक्रम, कार्यविभाजन र केन्द्रीय सदस्य मनोनयनको विषयलाई लिएर देशव्यापी रुपमा असन्तुष्टि बढेको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीहरूसँग छलफल नगरी कार्यविभाजन,मनोनयन र वरीयताक्रम निर्धारण गरेपछि असन्तुष्टि देखिएको हो। नवौं महाधिवेशनमा माधव नेपालसँग जोडिएका र पार्टीमा फरक विचार राखिरहेका नेताहरूप्रति ओलीले पूर्वाग्रह राखेर कार्यविभाजन गरेको आरोप नेताहरूले लगाएका छन्।

दोलखाका एमाले अध्यक्ष ईश्वरचन्द्र पोखरेलले आफूभन्दा कनिष्ठलाई केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज बनाएको भन्दै राजीनामा घोषणा गरेका छन्। दोलखामा सरस्वती बस्नेतलाई इन्चार्ज बनाएर पठाएपछि उनले राजीनामा दिएका हुन्।

ओखलढुंगाका एमाले नेता छवि कार्कीको ह-त्या आरोप लागेका बालकृष्ण ढुंगेललाई पोलिटब्युरो सदस्य बनाएपछि उनलाई एमालेको नेता मानेर कार्यकर्तामाझ जान असजिलो भएको एमालेका पुराना नेताहरूले बताएका छन्। ढुंगेल माओवादीबाट एमालेमा आएका हुन्। ‘हिजोसम्म उहाँलाई हामीले ह-त्यारामात्रै भनेनौं, माओवादीहरूले हाम्रा कार्यकर्तालाई गरेको थिचोमिचो लिएर जनतामाझ गएका थियौं।

आज तिनै मान्छेलाई पोलिटब्युरो सदस्यका रुपमा लिएर हिँड्नुपर्ने अवस्था आयो। दुई कार्यकाल केन्द्रीय सदस्य भएका यज्ञराज सुनुवार र किशोर अधिकारी पोलिटब्युरो सदस्य बन्न सकेनन्। प्रचण्ड (माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल) लाई गाली गरेको भरमा ढुंगेललाई नेता बनाइयो। यो अवस्थामा हामी कार्यकर्तामाझ जाने अवस्था छैन’,ओखलढुंगाका एक नेताले भने।

दैलेखको इन्चार्ज मागेका विष्णु रिजालले महासचिव शंकर पोखरेलसँग असन्तुष्टि व्यक्त गरेका छन्। आइतबार साँझ लामो समय कुराकानी गरेका रिजालले प्रचार विभागको उपप्रमुख पाएका थिए। रिजाललाई दैलेखको सहइन्चार्ज दिइएको थियो। त्यसैगरी जाजरकोटको सहइन्चार्ज पाएका निरज आचार्यले लिखित रुपमै असन्तुष्टि व्यक्त गरेका छन्। महासचिव शंकर पोखरेलमार्फत उनले असन्तुष्टि जनाएका हुन्।

त्यसैगरी झपट रावलले पनि १० बुँदे सहमति गरेर एमालेमै रहेका नेताहरूको कत्लेआम गरेको भन्दै कैलाली जिल्लाको सहइन्चार्ज अस्वीकार गरेका छन्। उनी यसअघि कैलालीको इन्चार्ज थिए। ‘कार्यविभाजनमा त कत्लेआम गरियो,मभन्दा जुनियरलाई पोलिटब्युरो र इन्चार्ज दिइयो। मैले यो विषयमा लिखितरुपमा असहमति प्रकट गरेको छु’, उनले भने।

‘अध्यक्षले जिम्मेवारी दिँदा भेदभाव हुन्न भन्नुहुन्थ्यो तर ती सबै भन्ने कुरा रहेछन्’, केन्द्रीय सदस्य निरज आचार्यले भने। उनले पनि लिखित असहमति प्रकट गरिसकेका छन्। सिन्धुलीका गणेश पहाडी दुईपटक केन्द्रीय सदस्य भए पनि पोलिटब्युरो सदस्य बनाइएनन्।

प्रकाशित : मङ्गलबार, मङि्सर २८, २०७८०९:२३

शिक्षकलाई दलको उम्मेदवार बन्न सर्वोच्चको रोक, राजनीति गरे कारवाही !