च्याम्पियन्स लिगको अन्तिम १६ मा रियल म्याड्रिडको सामना गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि सर्जियो रामोसले आफू ‘म-र्नु’ परेपनि तयार रहेको बताएका छन्।
स्पेनिस सेन्टर-ब्याकलाई युरोपमा आफ्नो पूर्व क्लबसँग भिड्नु पर्दा उनको भावनाको बारेमा सोधिएको थियो, जसमा आफ्नो वर्तमान क्लबप्रति निष्ठाको बारेमा कुनै शंका गर्ने ठाउँ दिएनन्। रामोसले लामो समयसम्म मांसपेशीको चोटको बीचमा पीएसजीका लागि यस वर्ष एक खेल मात्र खेल्न सफल भएका छन्, तर उनी फेब्रुअरी-मार्चमा हुने महत्त्वपूर्ण भिडन्तको लागि उपलब्ध हुने आशा गरिएको छ।
सोमबार भएको ड्र मा रामोसको टोली आफ्ना पूर्व टिममेट रोनाल्डोको टोली म्यानचेस्टर युनाइटेड विरुद्ध ड्र भएको थियो तर प्राविधिक कारणले समस्या आएपछि पुन: गरिएको ड्र मा रामोसले रियल म्याड्रिड विरुद्ध खेल्नुपर्ने भएको हो। रामोसले भने, “रियल म्याड्रिडप्रति मेरो स्नेह र माया तपाईंलाई थाहा नै छ। अब पीएसजीको रक्षा गर्ने पालो हो र म त्यसका लागि सक्दो प्रयास गर्नेछु। यो टोलीले म माथि बाजी लगाएको छ। म पीएसजीका लागि म-र्न पनि तयार छु।”
“मलाई यो भिडन्त [रियल म्याड्रिडसँग] गर्न मन थिएन, तर स्यान्टियागो बर्नाबेउमा फर्किनु आनन्दको कारण हो [किनभने] कोभिड प्रतिबन्धका कारण मैले वास्तविक बिदाई पाउन सकिन।”
३५ वर्षीय डिफेन्डर रियल म्याड्रिडका लागि आइकन थिए, तर उनको सम्झौता गत जुनमा समाप्त भएको थियो र क्लबसँग नयाँ सम्झौतामा सहमति हुन सकेन। पीएसजीले पर्याप्त सम्झौता प्रस्ताव गर्यो र रामोस फ्रान्सको सबैभन्दा प्रख्यात टोलीबाट खेल्ने अवसर गुमाउन चाहेनन्। तर अझै पनि, रियल म्याड्रिडको लागि उनको प्रेम स्पष्ट रूपमा बलियो छ।