बायर्नको शानदार जित: जिनाब्रीको ह्याट्रिक, लेवान्डोस्कीको किर्तिमान !

एजेन्सी – जर्मन च्यामियन बायर्न म्युनिखले बुन्डेसलिगामा १३ औं जित निकालेको छ। मंगलबार भएको खेलमा बायर्नले भिएफवी स्टुटगार्टलाई पराजित गर्दै सिजनको १३ औं जित निकालेको हो।

घरेलु टोली भिएफवी स्टुटगार्टलाई ५–० को भारी अन्तरले पराजित गर्दा सर्ज जिनाब्रीले ह्याट्रिक गरे भने पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको दुई गोल गरे। पहिलो हाफमा एक मात्र गोल गरेपनि बायर्नले दोस्रो हाफमा ४ गोल थपेको थियो।

खेलको ४०औं मिनेटमा सर्ज जिनाब्रीले लिरोए सानेको पासमा गोल गरेर बायर्नलाई अग्रता दिलाएका थिए। त्यस्तै खेलको ५३औं मिनेटमा जिनाब्रीले थोमस मुलरको पासमा गोल गर्दै बायर्नको अग्रतालाई दोब्बर पारे।

खेलको ६९औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले व्यक्तिगत पहिलो गोल गर्दा बायर्न ३-० को अवस्थामा पुग्यो। त्यसको ३ मिनेट बित्न नपाउँदै ७२औं मिनेटमा लेवान्डोस्कीले गोल थपे भने ७४औं मिनेटमा जिनाब्रीले ह्याट्रिक पूरा गरे।

लेवान्डोस्कीको किर्तिमान

स्टुटगार्ट विरुद्धको खेलमा दुई गोल गरेसँगै लेवान्डोस्कीले बायर्न म्युनिखक लेजेण्ड गर्ड मुलरको किर्तिमानसँग बराबरी गरेका छन्। एकै वर्षमा बुन्डेसलिगामा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड गर्ड मुलरको नाममा थियो। उनले एकै वर्षमा ४२ गोल गर्दै सन् १९७२ मा सो रेकर्ड बनाएका थिए। यस वर्ष लेवान्डोस्कीले पनि गोलसंख्या ४२ पुर्याएका छन्। किर्तिमानमा बराबरी गरेपनि आउने खेलमा उनले उक्त रेकर्ड तोड्नेछन्।

प्रकाशित : बुधबार, मङि्सर २९, २०७८०९:१६

बोकासँग हार्यो बार्सिलोना, म्याराडोना कप बोकालाई !