नेयमारसँग वाक्क भयो पीएसजी, हिराको भाउमा किनेपनि जीराको भाउमा बेच्न तयार !

अन्तत: नेयमारको चोटग्रस्त सिजनपछि सिजन देखि पेरिस सेन्ट जर्मेन (पीएसजी) निराश भएको देखिन्छ। सन् २०१७ मा फ्रेन्च क्लब पीएसजी;ले नेयमारको हस्ताक्षर प्राप्त गर्नको लागि बार्सिलोनालाई कीर्तिमानी २२२ मिलियन तिरेको थियो।

बार्सिलोनाबाट नेयमारलाई अनुबन्ध गर्न पीएसजीले तिरेको २२२ मिलियन अहिलेको समयसम्म पनि फुटबल ट्रान्सफर इतिहास मै सबैभन्दा ठूलो ट्रान्सफर रकम हो। नेयमारको उक्त ट्रान्सफरले विश्व फुटबललाई नै परिवर्तन गरेको थियो। च्याम्पियन्स लिग जित्ने उदेश्यका साथ करियरको शिखरमा रहेका ब्राजिलियन सुपरस्टारलाई भित्र्याएको पीएसजी पुगेपछि नेयमारको प्रदर्शनमा उल्लेखनीय मात्रामा गिरावट आएको छ।

लगातार चोटका कारण धेरै जसो समय मैदान बाहिर बिताउने गरेका २९ वर्षीय स्टारले क्लबका प्राय: महत्वपूर्ण च्याम्पियन्स लिग खेल गुमाउँदै आएका छन्। यस्तोमा यसै सिजन नेयमारको पूर्व टिममेट मेस्सीलाई अनुबन्ध गरेको पीएसजी अब भने नेयमारलाई क्लबबाट बाहिर पठाउन आतुर देखिन्छ। यस्तोमा एक रिपोर्टका अनुसार हालै मात्र फ्रेन्च क्लबले नेयमारलाई उनको पूर्व क्लब बार्सिलोनालाई अनुबन्ध गर्न प्रस्ताव गरेको छ।

पीएसजी बार्सिलोनासँग खेलाडी सट्टा-पट्टा गर्न इच्छुक देखिएको छ। यति मात्र नभएको पीएसजी बार्सिलोनाका लागि नेयमारका साथै थप ५० मिलियन पनि दिन तयार रहेको बताइएको छ। यसैले स्पष्ट पार्छ कि फ्रेन्च क्लब नेयमारबाट कत्ति छुटकारा पाउन आतुर रहेको छ। एल नेसिओनलका अनुसार पीएसजीले हाल बार्सिलोनाका मिडफिल्डर फ्रेन्की डी जोङको सट्टामा नेयमारका साथै ५० मिलियन युरो रकम समावेश गर्ने सम्भावनाको खोजी गरिरहेको छ।

तर बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले डी जोङ आफ्नो योजनामा रहेको स्पष्ट पारिसकेका छन्। यसका बाबजुद पनि आर्थिक संकटसँग संघर्ष गरिरहेको बार्सिलोना र डच स्टारको यस सिजनको प्रदर्शनलाई मध्यनजर गर्दा यो ट्रान्सफर नहोला भन्न भने सकिन्न तर निकै जटिल रहेको छ।

प्रकाशित : बुधबार, मङि्सर २९, २०७८१३:०४

जाभी भन्छन्-“हालाण्डलाई अनुबन्ध गर्नु मात्र कल्पनाको कुरा हो”