रुँदै आए अनि भने – ‘मैले धेरै प्रयास गरें तर सकिनँ, फुटबल खेल्दिन अब’

बार्सिलोनाका स्टार खेलाडी सर्जियो अगुएरोले आफ्नो फुटबल करियरबाट सन्यास लिने घोषणा गरेका छन्। मुटुको समस्याका कारण आफूले अबबाट प्रोफेसनल फुटबल नखेल्ने निर्णय गरेको अगुएरोले बताएका छन्।

बार्सिलोनाले आयोजना एक कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन्। उनले बार्सिलोनाका साथै आफ्ना पूर्व क्लबहरुलाई पनि धन्यबाद दिएका छन्। निकै भावुक हुँदै कार्यक्रममा देखा परेका अगुएरोले रुँदै आफ्नो निर्णय सुनाएका थिए।

अगुएरोको मुटुको समस्या बार्सिलोना र फुटबल जगतका लागि डरलाग्दो बनेको थियो जब उनी अलाभेस विरुद्ध अक्टोबर ३० मा मैदानबाट बाहिरिएका थिए।

सुरुमा ३३ वर्षीय स्ट्राइकरले कम्तिमा तीन महिना मैदान बहिरा बिताउनु पर्ने भनिएको थियो र अहिले एक महिना बाहिर बिताएपछि फुटबलमा उनको भविष्य नै शंकामा रहेको छ।

अर्जेन्टिनी स्टार खेलाडी यसै सिजन मात्र म्यानचेस्टर सिटीमा एक दशकको बसाईपछि नि:शुल्क ट्रान्सफरमा बार्सिलोना आएका थिए। अर्जेन्टिनी टिममेट लियोनल मेस्सीसँग बार्सिलोनामा खेल्ने सपनाका साथ स्पेनिस क्लब आएका अगुएरोको उक्त इच्छा भने पूरा भएन। ७ पटकका ब्यलोन डी ओर विजेता मेस्सी यसै सिजन मात्र बार्सिलोनामा आफ्नो सम्झौता थप हुन नसकेपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन प्रस्थान गरेका थिए।

सिजनको सुरुवातमा नै पूर्व एथलेटिको म्याड्रिड स्टार काफ समस्याबाट ग्रसित भएका थिए। उनले ला लिगा सान्टान्डरमा मात्र चार खेल खेल्न सफल भए, जुन समयमा उनले रियल म्याड्रिड विरुद्ध एल क्लासिकोमा एक पटक गोल गरे। च्याम्पियन्स लिगको एक खेल थप्दा अगुएरोले क्लबको लागि कुल १६५ मिनेट मात्र खेल्न सफल भएका थिए।

प्रकाशित : बुधबार, मङि्सर २९, २०७८१७:१४

ज्ञानेन्द्र र दीपेन्द्र आउट, नयाँ कप्तानमा सन्दीप !