एजेन्सी – नर्वेजियन युवा स्टार एर्लिङ ब्राउट हालान्डको दुई गोल सहयोगमा बोरुसिया डर्टमुन्डले ग्रेउथेर फुर्थलाई पराजित गरेको छ । घरेलु मैदानमा डर्टमुन्डले ३–० को जित निकालेको हो ।
सिग्नल इडुना पार्कमा बुधबार राति भएको खेलको २१औं मिनेटमा थोर्गन हाजार्डले गोल गरेपनि भिएआरमा अफसाइड ठहरिदा उनको गोलले मान्यता पाएन । ३३औं मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दै डर्टमुन्डलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।
८२औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमुन्डको अग्रता दोब्बर पारे । उनले जुलियन ब्रान्ड्टको पासमा गोल गरेका थिए । ८९औं मिनेटमा सव्सिच्युट फरवार्ड डोनेल मालेनले गोल गर्दै डर्टमुन्डको जित पक्का गरे । ७५औं मिनेटमा कप्तान मार्काे रिउसको स्थानमा मैदान छिरेका मालेनले जुलियन ब्रान्ड्टकै पासमा गोल गरेका थिए ।
यो जितसँगै डर्टमुन्डले शीर्षस्थानको बायर्नसँगको अंक दुरी ६ अंकमा छोट्याउँदा दोस्रो स्थानलाई मजवुत बनाएको छ । डर्टमुन्डको ३४ अंक छ । शीर्षस्थानको बायर्नको ४० अंक छ । पराजित ग्रेउथेर फुर्थ ४ अंक जोडेर पुछारमा रहेको छ ।

