काठमाडौं । अर्थ मन्त्रालय अहिले सत्ता गठबन्धनको एक घटक नेकपा माओदावी केन्द्रले हाँकिरहेको छ । माओवादी केन्द्रले नेता जनार्दन शर्मालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको गठबन्धन सरकारको अर्थमन्त्री बनाएको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
सोही मन्त्रालय मातहतमा रहेको धितोपत्र बोर्ड अहिले नेतृत्वविहीन छ । र, यसका अध्यक्ष नियुक्तिको लागि छनोट प्रक्रिया समेत सुरु भएको छ । अर्थ मन्त्रालयको ‘लिडर’ रहेको माओवादी केन्द्रले आफूनिकटकै व्यक्ति अध्यक्ष बनाउन लागिपरिरहेको बेला त्यसमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले केही असहमति जनाइरहेको खुलेको छ ।
माओवादी नेता अर्थमन्त्री शर्मा र कांग्रेस निकट योजना आयोगका उपाध्यक्ष पौडेलबीच बोर्डको अध्यक्षमा माओवादी निकट व्यक्ति ल्याउने कि कांग्रेस निकट भन्ने लफडा चलिरहँदा त्यसको तरंगले सेयरबजार समेत प्रभावित भएको देखिएको छ । बोर्डको अध्यक्षका लागि आवेदन माग गरिएअनुसार १२ जनाले आवेदन दिइसकेका छन् ।
गत कात्तिक ११ गतेदेखि १५ दिनको समय दिएर आवेदन खुलाइएको थियो । त्यसमा बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र उपकार्यकारी निर्देशक नबराज अधिकारी, बोर्डकै पूर्वकर्मचारी जीवन अमगाई, बीमा समितिका निवर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल स्टक एक्सचेञ्जका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, कर्मचारी सञ्चय कोषका पूर्वप्रमुख कृष्ण आचार्य, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा पुँजीबजार विज्ञ गोपाल भट्ट, वित्तीय विज्ञ रमेश हमाल, सहरी विकास कोषका उपनिर्देशक अनिल पौडेल, अम्बिका शर्मा, केशव श्रेष्ठ र हेमन्त बस्यालले आवेदन दिएका छन् ।
धितोपत्र बोर्डको अध्यक्ष छनोटको लागि छनोट समितिले ३ जनाको नाम सिफारिस गर्नेछ, र अर्थमन्त्रीले मन्त्रिपरिषदमा प्रस्ताव लगेर तीनमध्ये एक जनालाई नियुक्ति दिने व्यवस्था छ । तर अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार तीन जनाको नाम छनोटमै विवाद देखिएको छ । योजना आयोगका उपाध्यक्ष विश्व पौडेल छनोट समितिका संयोजक र अर्थसचिव मधुकुमार मरासिनी सदस्य छन् ।
समितिका एक सदस्य विज्ञ हुनुपर्ने व्यवस्था छ । जसमा अर्थमन्त्री जनार्दन शर्माले प्राडा नारायण प्रसाद पौडेललाई राखेका थिए । अहिले उनलाई हटाएर नयाँ व्यक्ति ल्याइएको अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्यले जानकारी दिए । ‘छनोट समितिको विज्ञ सदस्यमा डा. जीवनाथ धिताललाई ल्याइएको छ,’ शाक्यले भने, ‘अब यो समितिले पुनः नयाँ प्रक्रिया सुरु गरी ३ जनाको नाम छनोट गर्नेछ ।’ अर्थमन्त्री शर्माले चिरञ्जीवी चापागाईलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउन चाहेका छन्, जसमा छनोट समितिका संयोजक पौडेल सहमत नहुँदा ३ जनाको नाम छनोटमै विवाद उत्पन्न भएको हो ।
अर्थका अर्का एक अधिकारीका अनुसार छनोट समितिका संयोजक पौडेल चापागाईलाई जसरी पनि रोक्ने प्रयासमा छन् । धितोपत्र बोर्डको अध्यक्षमा कांग्रेसले रमेश हमाललाई ल्याउन चाहेको छ। प्रधानमन्त्री निकट रहेका हमाललाई नियुक्ति दिलाउन प्रधानमन्त्री पत्नी आरजु राणा नै लागिपरेको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले दाबी गरे । आवेदक मध्येका एक रहेका हमाल बोर्डको अध्यक्षका लागि आफू योग्य रहेको दाबी गर्छन् ।

