ज्ञानेन्द्रसँग सहमति गरेको आरोप पछि प्रचण्डले मुख खोले, ओलीलाई कडा चुनौती !

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आरोप पुष्टि गर्न चुनौती दिएका छन्। ओलीले तत्कालीन राजा ज्ञानेन्द्र र माओवादी अध्यक्ष प्रचण्डबीच गोप्य सहमति भएको आरोप लगाएपछि प्रचण्डले बिहिबार एक विज्ञप्ति जारी गर्दा आरोपलाई पुष्टि गर्न चुनौती दिएका हुन्।

ओलीले युद्धकालमा माओवादी अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रसँग पाँचबुँदे सहमति गरेको आरोप लगाएका थिए। त्यसको भोलिपल्ट बिहिबार प्रचण्डले ओलीलाई उक्त आरोप प्रमाणित गर्न अन्यथा जनतासामु माफी माग्न चुनौती दिएका छन्।

“पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँचबुँदे सहमति भएको थियो भन्ने शतप्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनीतिक चरित्र मात्र प्रदर्शन गरेका छन्। म केपी ओलीलाई ‘पाँचबुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु।”,ओलीलाई चुनौती दिंदै प्रचण्डले भनेका छन्।

ओलीले के भनेका थिए ?

बुधबार एमालेका मनोनित केन्द्रीय सदस्यहरूलाई च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शपथ गराउने कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा ओलीले प्रचण्ड र ज्ञानेन्द्र बीच साँठगाँठ रहेको आरोप लगाएका थिए।

“उक्त सहमति के र कसका विरुद्ध भएको भन्ने सम्बन्धमा प्रचण्ड र ज्ञानेन्द्रले खुलाउनुपर्छ । हामी रुकुम, रोल्पा जान नसक्ने, ज्ञानेन्द्र खुलुमखुला जान सक्ने कसरी भयो ?”,ओलीले भनेका थिए।

प्रकाशित : बिहिबार, पुष ०१, २०७८१०:४३

पुस महिनाको पहिलो दिन नै बढ्यो सुनको मूल्य, २४ दिनकै महँगो भयो !