हालाण्ड भित्र्याउन श्रोत जुटाउँदै बार्सिलोना, यी खेलाडी लखेटिन सक्छन् !

एजेन्सी – बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टा क्लबका लागि भरपर्दो स्ट्राइकरको खोजिमा जुटेका छन्। लियोनेल मेस्सीले छाडेपछि आक्रमणमा धर्मराइरहेको क्लबलाई गति दिनको लागि लापोर्टा राम्रो स्ट्राइकरको खोजिमा जुटेका हुन्।

पछिल्लो समय लापोर्टा नयाँ मिसनमा जुटेका छन्। गएको केहि वर्ष देखि लगातार चर्चामा रहँदै आएका बोरुसिया डर्टमन्डका नर्वेली युवा स्टार एर्लिङ हालाण्डलाई भित्र्याउनको लागि उनले भित्र-भित्रै तयारी थालिरहेका छन्।

विभिन्न संचार माध्यममा आएका खबर अनुसार लापोर्टाले हालाण्डका एजेन्ट मिनो राइओलासँग भेट गरिसकेका छन्। उनले इटालीमा राइओलालाई भेटेको बताइन्छ। भेटका क्रममा उनले हालाण्डका बारेमा चासो राखेका थिए।

त्यसक्रममा राइओलाले लापोर्टालाई हालाण्डले चाहेको पारिश्रमिक बारे जानकारी दिएका थिए भने हालाण्डलाई बार्सिलोनामा ल्याण्ड गराउँदा हुने खर्चहरु बारे पनि स्पष्ट पारेका थिए।

श्रोत जुटाउँदै बार्सिलोना

हालाण्डलाई भित्र्याउन आवश्यक पर्ने खर्चको जोहो गर्न तर्फ बार्सिलोना अगाडी बढिसकेको छ। बताइएअनुसार बार्सिलोनाले विभिन्न खेलाडीहरुलाई बिक्री गर्ने योजना बनाएको छ। महँगो पारिश्रमिक लिरहेका खेलाडीहरुबाट छुटकारा मिल्न सक्ने पनि आर्थिक भार कम हुने बार्सिलोनाको निष्कर्ष छ।

बार्सिलोनाले फिलिपे काउटिन्होलाई जसरी पनि बिक्री गर्ने रणनीति बनाएको छ। त्यसपछि बिक्री गर्न चाहेका खेलाडीहरुको सामुएल उम्टिटी र मार्टिन ब्रेथवेट पनि छन्। दुवै खेलाडी बार्सिलोनाका लागि टाउको दुखाई बनिरहेका छन्।

त्यस्तै सेभियाबाट लोनमा ल्याइएका लुक डे जोङलाई पनि फिर्ता पठाउने बार्सिलोनाको तयारी रहेको छ। यी खेलाडीहरुलाई बिक्री गर्दा पारिश्रमिकको भार धेरै कम हुने र त्यसले हालाण्डको पारिश्रमिक तिर्ने बार्सिलोनाको योजना रहेको बताइन्छ।

प्रकाशित : बिहिबार, पुष ०१, २०७८१३:०१

“म तिमीलाई धेरै सम्झिनेछु, अगुएरो” भन्दै निकै भावुक भए मेस्सी !