यो खुला गोप्य छ कि रियल म्याड्रिड सम्भावित स्थानान्तरणका लागि किलियन एमबाप्पेसँग फ्लर्ट गर्दै गर्दा एर्लिंग हालान्ड पनि उनीहरूको रडारमा छन्। यस्तोमा, पूर्व लस ब्लान्कोस स्ट्राइकर ह्युगो सान्चेजले दुई सुपरस्टार फरवार्डहरूलाई लिएर क्लबको प्रयास बारे आफ्नो विचार प्रसारित गरेका छन्।
मेक्सिकनले स विषयमा रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग कुरा गरेको र क्लब प्रमुखलाई दुबै खेलाडीलाई अनुबन्ध गर्न सल्लाह दिएको बताएका छन्। “मैले अध्यक्षसँग कुरा गर्ने मौका पाएँ, र उनले मलाई एउटै प्रश्न सोधे, म मड्रिडका लागि यी खेलाडीहरूको बारेमा के सोच्दछु,” ह्युगो सान्चेजले भने, “र मैले उनलाई भनें कि म्याड्रिडमा संसार कै उत्कृष्ट खेलाडी खेल्ने गरेका थिए। उनीहरु दुबैको लागि आउन सजिलो छ।”
किलियन एमबाप्पे र एर्लिङ हालान्ड अहिले युरोपियन फुटबलका सबैभन्दा घातक युवा फरवार्ड हुन्। यी दुईले पछिल्ला केही सिजनमा क्लब र देशका लागि धेरै गोल गरेका छन्।
प्रशस्त मात्रामा गोल गर्न सक्षम दुबै खेलाडी एक-अर्का भन्दा निकै भिन्न रहेको पनि उनको भनाई रहेको छ। रियल म्याड्रिडका पूर्व फरवार्डले एमबाप्पे आफ्नो फ्रान्सका साथी करिम बेन्जेमासँग मिल्दोजुल्दो रहेको विश्वास गर्छन् भने हालान्ड क्रिस्टियानो रोनाल्डो जस्तै छन्। उनले हालान्ड र एमबाप्पेको बारेमा भने, “तिनीहरू फरक छन्। हालान्ड एक स्ट्राइकर हुन्। एमबाप्पे एक अलराउन्डर हुन्। एमबाप्पे बेन्जेमा जस्तै हुन्। कान्छो र प्रतिभाशाली, तर समान छन्। हालान्ड क्रिस्टियानो जस्तै छन्। उनी एक बेन्चमार्क हुन् र म्याड्रिडलाई यस्तै एक खेलाडी चाहिन्छ।”