एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिड र फ्रेन्च पावरहाउस पेरिस सेन्ट जर्मेन(पिएसजी) च्याम्पियन्स लिगमा एक-अर्काको सामना गर्दैछन्। अन यी दुई क्लब मध्ये एक मात्र च्याम्पियन्स लिगको क्वाटर फाइनलमा पुग्नेछ। पछिल्लो समय उत्कृष्ट लयमा रहेको रियल म्याड्रिड लालिगाको लिडर हो भने पिएसजी पनि फ्रेन्च लिग वानको शिर्ष स्थानमा रहेको क्लब हो।
च्याम्पियन्स लिगको प्रमुख दाबेदारको रुपमा रहेका दुई क्लब आमने सामने हुँदा पिएसजीका सर्जियो रामोस आफ्नो पूर्वक्लब विरुद्ध उत्रनेछन्। रामोसले रियल विरुद्धको खेलमा ज्यान दिने बताइसकेका छन्। रामोस रियलका लेजेण्ड हुन्। कयौं वर्ष सम्म रियलको कप्तानी सम्हालेका उनी पूर्वक्लब विरुद्ध उत्रिएको हेर्न रोचक हुनेछ।
रियल र पिएसजी दुवै क्लब विरुद्ध खल्ने उनी पहिलो खेलाडी भने होइनन्। धेरै स्टार खेलाडीहरुले यी दुवै क्लबबाट खेलिसकेका छन्। पिएसजी र रियल दुवै क्लबबाट खेलेका स्टार खेलाडीहरु बारे केहि जानकारी निम्न छ।
क्लाउड मेकेले
क्लाउड मेकेलेलाई फुटबल इतिहाँसकै उत्कृष्ट डिफेन्सिभ मिडफिल्डर मध्ये एकको रुपमा लिइन्छ। उनले रियल र पिएसजी दुवै क्लबका लागि खेलेका छन्। उनले सन् २००० देखि २००३ सम्म रियलका लागि खेलेका थिए भने पिएसजीका लागि सन् २००८ देखि २०११ सम्म खेलेका थिए। रियलमा हुँदा उनले च्याम्पियन्स लिग सहित ७ उपाधि जितेका थिए। पछि उनी चेल्सी गए र त्यहाँ ५ वर्ष बिताए। चेल्सी पछि पिएसजी पुगेका उनले त्यहाँ मात्र १ उपाधि जिते।
गेब्रियल हेन्जे
गेब्रियल हेन्जे सन् २००१ मा पिएसजी पुगेका थिए। त्यहाँ उनले ३ वर्ष बिताए। सन् २००४ सम्म पिएसजीमा लेफ्ट ब्याकको रुपमा खेलेका उनले पिएसजीमा रहेर एक फ्रेन्च कप जितेका थिए। सन् २००४ मा उनी म्यानचेस्टर युनाइटेड पुगेका थिए भने सन् २००७मा उनी रियल पुगे। डेब्यु सिजनमा उनले रियलसँग रहेर लालिगा जितेका थिए।
सर्जियो रामोस
सर्जियो रामोसले पिएसजीबाट मात्र एक खेलेका छन्। पिएसजी डेब्युका लागि उनले कयौं महिना मिहिनेत गर्नुपर्यो। रामोस यसै सिजन पिएसजी पुगेका हुन्। उनी फ्री ट्रान्सफरमा पिएसजी पुगेका थिए। त्यसअगाडी उनी रियल म्याड्रिडमा थिए। सन् २००५ मा रियल पुगेका उनी सन् २०२१ सम्म रियलमा रहे। त्यसक्रममा उनले क्लब फुटबलमा सम्भव सबै उपाधि जिते।
केलर नाभास
कोस्टा रिकाका गोलकिपर केलर नाभासले सन् २०१४ को विश्वकपमा प्रभावशाली प्रदर्शन गरेका थिए। जसकारण उनी त्यहि वर्ष रियल म्याड्रिड पुगे। रियलमा हुँदा उनले उच्च प्रदर्शनलाई कायम राखे। रियलमा हुँदा उनले १२ उपाधि जिते। उनी सन् २०१९ देखि पिएसजीमा छन्। उनी पिएसजी च्याम्पियन्स लिगको फाइनलमा पुग्दा पिएसजीको एक हिस्सा थिए।
एन्जेल डि मारिया
एन्जेल डि मारियाले आफ्नो पूरा फुटबल करियरमा एकनासको प्रदर्शन गरे। उनी सन् २०१० देखि सन् २०१४ सम्म रियलमा रहेका थिए। रियलमा हुँदै उनी विश्वको उत्कृष्ट विंगरको रुपमा उदाएका थिए। उनले सन् २०१४ मा रियलबाट च्याम्पियन्स लिग पनि जितेका थिए। म्यानचेस्टर युनाइटेडमा बिर्सन लायक प्रदर्शन गरेपनि उनी सन् २०१५ मा पिएसजी पुगेका थिए। पिएसजी पुगे यता उनले विभिन्न उपाधि जितेपनि च्याम्पियन्स लिग भने जित्न सकेका छैनन्।